Logo

राष्ट्रपतिलाई विदाई गर्न प्रधानमन्त्री एयरपोर्टमा, राष्ट्रपति हेलिकप्टरमार्फत विमानस्थल जाने



काठमाडौं, २९ असोज । पाँच दिने म्यानमार भ्रमणमा जान लागेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई विदाई गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्री तथा विशिष्ट व्यक्तिहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेका छन् ।

राष्ट्रपति भने यो पटक स्थलमार्ग नभई हवाई मार्ग हुँदै विमानस्थल पुग्नेछिन् । उनी केही बेरमै शितलनिवासबाट हेलिकोप्टरमार्फत विमानस्थलमा पुग्ने कार्यक्रम छ । स्थलमार्ग हुँदै विमानस्थल जाँदा जनतालाई सास्ती हुने देखेर राष्ट्रपति हेलिकप्टरमार्फत विमानस्थलसम्म जान लागेको शितलनिवास स्रोतले जनाएको छ ।

राष्ट्रपति भण्डारी म्यानमारका उनका समकक्षी विन मिन्टको निमन्त्रणामा आज बिहान ११ बजे म्यानमारतर्फ प्रस्थान गर्न लागेकी हुन् । उनले राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्विपक्षीय सम्बन्धबारे कुराकानी गर्ने्छिन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यानमारका नागरिकहरुसँग पायन यु लायनमा पनि भेट्ने कार्यक्रम छ । उनले राजधानी यंगुनको ऐतिहासिक स्थानहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमेत सहभागी हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्