Logo

तोडफोड गर्ने सांसद छुटाउन उपमेयर झा पनि आन्दोलनमा



जनकपुर, २९ असोज । विमानस्थलको कार्यालयमा तोडफोड गर्ने राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद शाहको रिहाईको माग गर्दै शुरु भएको आन्दोलनमा जनकपुर उपमहानगरपालिकाकी उपमेयर रीता झा पनि सहभागी भएकी छिन् । उनी राजपा धनुषा जिल्लाले आव्हान गरेको आन्दोलनको कार्यक्रममा सहभागी भइन् ।

जनकपुरस्थित बुद्ध एयरको कार्यालयमा तालाबन्दी लगाउन पुग्दा झा समेत सहभागी थिइन् । ताला लगाउन गएपनि प्रहरीले रोकेको थियो । त्यस क्रममा झडपको स्थिति भएपनि परिस्थितिलाई नियन्त्रणमा राखेको प्रहरीले जनाएको छ ।

सांसद शाहको रिहाईको माग गर्दै जनकपुर विमानस्थलमा तोडफोड गरेको अभियोगमा पक्राउ परेका राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद शाहको अबिलम्ब रिहाईको माग गर्दै उक्त दल आन्दोलनमा उत्रिएको हो । राजपाको धनुषा जिल्लाले मंगलबार साँझ आकस्मिक बैठक बसी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । उसले बुद्ध एयरलाई लक्षित गरी कडा कदम समेत चाल्ने निर्णय गरेको थियो ।

२९ असोजको विहान जनकपुरधामको रमानन्द चोकमा एक घन्टा चक्का जाम गरेको थियो । जनकपुरधामस्थित बुद्ध एयरको कार्यालयमा तालाबन्दी गर्न खोजेको थियो । बुद्ध एयर बहिष्कार गर्ने गराउने, यसबारे अन्र्तक्रिया गर्ने कार्यक्रम अगाडि बढाएको छ ।

यसपछि पनि रिहाई नगरिए कडा कदम चाल्ने राजपाले जनाएको छ । यसअघि रिपोर्टर्स नेपालसँग कुरा गर्दै राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले शाहको पक्राउलाई सरकारको निरंकुश शैली भनी आरोप लगाए । उनले कडा कदम चाल्ने चेतावनी समेत दिए । उनले भने, सांसद प्रमोद शाहजीको पक्राउको सरकारलाई उचित जवाफ दिन्छौं । File Photo



प्रतिक्रिया दिनुहोस्