Logo

नेपाल सीकरण भयो भन्नु बकवास हो : उपप्रधानमन्त्री पोखरेल (भिडियोसहित)



काठमाडौं, २९ असोज । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल र उपलब्धिमूलक भएको दाबी गरेका छन् । बुधबार नेकपाले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुँदैमा सीकरण नहुने जिकिर गरे ।

उनले भने,‘नेपाल अब सीकरण भयो भन्नु बकवास हो । मोदीजी कतिपटक आउनुभयो, हामी भारतकरण त भएनौं । २३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमण गर्नुभयो, अनि के सीकरण भैगयो त ? यो त एक ढंगको आग्रहको फोबिया हो । त्यो फोबियाबाट मुक्त हुनुपर्छ । हामी हाम्रो खुट्टामा कत्रो जुत्ता लाग्छ भन्ने कुरा खुट्टाको नापमा जुत्ता खोज्छौं । जुक्ताअनुसार खुट्टा काट्दैनौं ।’

https://www.facebook.com/ReportersNepalcom/

सीको भ्रमणसँगै नेपाल र चीनबीच कनेक्टिभीटी जोडिएको पनि उनको तर्क छ । सीको नेपाल भ्रमणका मुख्य तीन महत्वहरुमा मित्रतालाई उचार्इृमा पुगेको पनि उनले सुनाए । त्यस्तै, कनेक्टिभीटीलाई पनि नयाँ ढंगले अघि बढाएको र आर्थिक विकासको कुरालाई पनि अघि बढाएको उनको दाबी छ । नेपाल स्वाधिनतापूर्वक उभिन चाहेको पनि पोखरेलको भनाई छ ।

नेकपाका सचिवालय सदस्यसमेत रहेका मन्त्री पोखरेलले भने,‘हामी कतैको दबाबमापनि पर्दैनौं । कतैतिर ढल्किँदापनि ढल्किँदैनौं । हामी नेपाल भएर उभिन्छौं । हाम्रो राष्ट्रिय स्वार्थलाई प्रथम महत्व दिएर अघि बढ्छौं ।’



प्रतिक्रिया दिनुहोस्