Logo

सीसीटिभीको प्रयोग बढ्दो, अपराध अनुसन्धानमा फड्को



काठमाण्डौ । नेपालमा पछिल्लो समय सिसिटिभीको प्रयोग बढ्दै गएको छ । सार्वजनिक स्थानमा राखिने सिसिटिभीले त्यहाँ हुने सबैखाले गतिविधिको दुश्य कैद गर्नेभएकाले सुरक्षाका हिसाबले यसको धेरै महत्व छ । काठमाण्डौ उपत्यकामा सिसिटिभीको प्रयोगले अपराध तथा गैर कानुनी कामलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेको छ ।

केहि वर्षअघिसम्म सुरक्षा भन्नाले राज्यले प्रदान गरिरहेको पुलिस प्रशासन को नियमित कार्य तथा निजिरुपमा घर तथा कार्यालयमा राखिएका सिमित ब्यक्तिले प्रदान गर्ने निरिक्षण सेवा भनेर बुझिन्थ्यो ।

तर पछिल्लो सयम बिद्युतिय सुरक्षाको प्रयोगको बारेमा चेतना बढेको छ । यसअन्तरगत सिसिटिभिको प्रयोग बढिरहेको छ । काठमाडौं उपत्यका लगायत देशका मूख्य सहरमा सिसि क्यामाराको निगरानीले गर्दा अपराध सम्बन्धी घटनालाई बाहिर ल्याउन सहज भएको छ । शान्तिसुरक्षा कायम गराउन, चोरीलगायत आपराधिक क्रियाकलाप नियन्त्रण गर्न, दुर्घटना न्यूनीकरण गर्न र दुर्घटना भएमा संलग्नलाई नियन्त्रणमा लिएर कारबाही गर्न सहज बनाउने उदेश्यले क्यामेरा जडान गरिएको हो ।

सिसिटिभी जडान गर्नले बिभिन्न घटनालाई कहाँ कसरी कस्ले ग¥यो भन्ने थाहा पाउँदा अपराधीलाई काबाही गर्न सहजता मिलेको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले बताए ।

नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेल

मुख्य चोक र बढी संवेदनशील क्षेत्रकै क्यामेरा भएका कारण प्रहरीलाई आपराधिक गतिविधी नियन्त्रणमा सहज भएको प्रहरीको भनाई छ । उपत्यकामा मात्र ५१० वटा सिसि क्यामारा जडान गरिएको छ ।

तर जडान गरिएको कतिपय सिसिटीभीको क्यामेराले काम नगर्दा केही तोडफोड गर्नेको समेत पहिचान गर्न सकिदैन । जसले गर्दा दोषीले उन्मुत्ति पाउने गरेको छ । काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीको नियमको उल्लंघन गर्ने सवारी साधानका चालकलाई सिसि टिभि फुटेज मार्फत सम्र्पकमा ल्याएर कारबाही गरिने गरिएको छ ।

ट्राफिक प्रहरी महाशाखाका उपरीक्षक रबि कुमार पौडेल

चालु आर्थिक वर्षको साउन र भदौमा सिसिटिभीमा कैद दृश्यको सहयोगमा २ हजार चार सय घटनाका दोषी कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका उपरीक्षक रबि कुमार पौडेलले बताए ।

आर्थिक वर्ष २०७५–७६ मा ट्राफिक नियम उल्लङ्घन गर्ने कूल ८ हजार ३ सय ८० घटनाका दोषी सिसिटीभीकै सहयोगमा कारबाहीमा परेका थिए । सिसिटिभीको उपयोगिता महत्वपूर्ण भए पनि त्यसलाई मर्मत तथा आवश्यक व्यवस्थापनप्रति भने बेवास्ता भइरहेको छ ।

कतिपय आवश्यक स्थानमा पनि सिसिटिभी राखिएको छैन भने राखेर विग्रिएकाको मर्मत पनि हुन सकेको छैन । यस्ता कमजोरी सुधारमा सम्बन्धित निकाय जिम्मेवार बन्ने हो भने पक्कै पनि सिसिटिभीको महत्व थप बढ्ने थियो । तत्कालिन गृहमन्त्री शक्ति बस्नेतले कात्तिक २५ गते स्वीकृत गरेको ’सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७२’ स्वीकृत गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्