Logo

महरा विनाको नेकपाको चीयापान



काठमाडौं, २९ असोज । नेपाल कम्युनिष्ट पार्टीले तत्कालिन एमाले छँदै हरेक वर्ष दशैं र तिहारको बीचमा चीयापान गर्दै आएको थियो । त्यसलाई पार्टी एकीकरणपछि पनि निरन्तरता दिएको छ ।

यसपटक पार्टी सत्तामा पनि रहेको र एकीकृत प्रक्रिया टुंगिएको अवस्थामा माहोल तात्तिने आँकलन गरिएको थियो । तर, चीयापान त्यस्तो रहेन । नेकपाकै नेता कार्यकर्ताले चीयापानमा सोचे जत्तिको मान्छे नआएको भनिरहेका थिए ।

नेकपाको कार्यकर्ताको संख्या लाखौं छ । तर, चीयापानमा सहभागिता कम देखियो । भृकुटीमण्डपमा चीयापानमा नेता कार्यकर्ता भलाकुसारी गर्दा सबैभन्दा बढी निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउकै विषयबारे कुरा गरिरहेका देखिन्थे । उनीहरुको आ आफ्नै तर्क वितर्क सुनिन्थ्यो ।

महरालाई जर्बजस्तीको आरोप नलागेको भए उनी सभामुखका रुपमा सहभागी हुन्थे । नेकपा नेता समेत रहेका उनको महत्व अर्कै हुन्थ्यो । तर, नेकपामा चीयापानको माहोल रहँदा महरा प्रहरीको घेराबन्दीमा नर्भिक अस्पतालमा थिए । उनी आफूविरुद्धको अभियोगको सामना गर्ने परिस्थितिमा छन् । उनको सांसद पद नै रहने हो कि होइन भन्ने अवस्था रहेको छ ।

औपचारिक कार्यक्रममा राष्ट्रिय एकता र सहमतिको विषयमा नेताहरुले बोलेपनि अनौपचारिक रुपमा नेता कार्यकर्ता महरा प्रकरण देखि मन्त्रिहरुको फेरबदलका बारेमा कुराकानी गरेको भेटिन्थे ।

मन्त्रीहरुको फेरबदलको हल्लाका कारण नेताहरु त्यसबारे बोल्न पुगे । अहिले मन्त्री फेरबदल नहुने बताए प्रभावशाली नेताहरुले । वरिष्ठ नेता माधवकुमार नेपालले उपचुनाव अघि मन्त्री फेरबदल गर्न नहुने बताए ।

मन्त्री बन्ने दौडधूप लामो समययता चलिरहेकै छ । तर, प्रधानमन्त्री ओलीले अप्रत्याशित रुपमा निर्णय लिनसक्ने बुझिएको छ । यसका लागि उनले परामर्श थालिसकेका छन् । आउँदो हप्ताभित्र यसको प्रक्रिया थाल्नेबारे तयारी समेत भइसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी देशबाहिर भएकाले मात्र तत्काल मन्त्रीहरु फेरिने सम्भावना नरहेको हो । उनी आएपछि यसको छिनोफानो हुनसक्ने नेकपाको विश्वस्त स्रोतल जानकारी दिएको छ ।

File Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्