Logo

एनआरएनको मतदान स्थगित्, चर्को नाराबाजी सुरु



काठमाडौं, २९ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन हिजोबाट काठमाडौंमा सुरु भएको छ । उक्त सम्मेलनको दोस्रो दिन आज नेतृत्व चयनको लागि मतदान हुने भनिएको थियो । तर, भोटिङ मेसिनले काम नगरेपछि मतदान स्थगित् भएको छ ।

काठमाडौंको बौद्धस्थित् ह्यात होटलमा सुरु भएको मतदान मेशिनले काम नगर्दा स्थगित् भएको हो । पत्रकार ऋषि धमलाकाअनुसार मतदान गर्न लामोसमयदेखि कुरेर बसेका प्रतिनिधिहरु यतिवेला घर फर्किन थालेका छन् । मतदान स्थलमा चर्को नाराबाजी जारी छ । यसपटक संघको नेतृत्वको लागि वर्तमान उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा छन्। महाधिवेशनमा ४१ पदका लागि ७५ जनाले मनोनयन दर्ता गराएका छन्।

धमलाकाअनुसार भोटिङ मेसिन भोलि विहानसम्म बन्ने छ। भोलि (बिहीबार) बिहान १० बजेदेखि मतदान प्रक्रिया पूनः सुरु हुने गैरआवासीय नेपाली संघका एक प्रतिनिधिले जानकारी दिए ।

निर्वाचन कमिटीका सदस्य पाण्डेका अनुसार ४ उपाध्यक्षका लागि ९ जनाले मनोनयन दर्ता गराएका छन्। पन्तलाई संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतो र पूर्व अध्यक्ष जीवा लामिछानेको साथ छ । यद्धपी महतोले भने सम्मेलनमा राजनीति बढि हावी भएको भन्दै बहिष्कार गरेका छन् । उनले सुरुदेखि नै संघमा सुरुदेखि लागेको अनुभवी र योग्य उम्मेद्धवार नेतृत्वमा आउनुपर्ने अडान राख्दै आएका छन् । उनको यो भनाईबाट पनि यसपटक संघको नेतृत्वमा पन्तलाई ल्याउनुपर्छ भन्ने अडान रहेको प्रष्ट बुझ्न सकिन्छ ।

उता, अध्यक्षका अर्का उम्मेद्धवार आचार्यलाई पूर्व अध्यक्षद्धय देवमान हिराचन र शेष घलेको साथ छ । त्यस्तै, वर्तमान अध्यक्ष भवन भट्टले पनि यो पटक आचार्यलाई नै सघाएको बुझिएको छ । त्यसैले यो पटक संघको नेतृत्वको चुनावमा कडा प्रतिष्पर्धा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्