Logo

कानुन बनाउने पाँच जना सांसद कठघरामा



काठमाडौं, ३० असोज । प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँचजना सांसद पक्राउ गरेका छन्। महरासहित पाँच सांसदमाथि विभिन्न आरोपसँगै प्रहरीले नियन्त्रण गरेसँगै निलम्बित हुने सांसदको संख्या पाँच पुगेको हो।

२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा एक सांसदको निधन र पाँचजना निलम्बनमा परेपछि सदस्य संख्या २ सय ६९ मा सीमित भएको छ। सांसदसमेत रहेका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी गत फागुनमा निधन भएको थियो। यही मंसिर १४ गते त्यहाँ उपनिर्वाचन हुँदैछ।

निलम्बनमा पर्नेहरुमा नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित महरासँगै राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित सांसद रेसमलाल चौधरी, तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित सांसद हरिनारायण रौनियार, कांग्रेस सांसद मोहम्मद आफताब आलम, राजपाकै सांसद प्रमोद साह छन्। तत्कालीन नेकपा एमालेबाट निर्वाचित सांसद पार्वत गुरुङलाई पनि फौजदारी अभियोगमा पक्राउ पुर्जी जारी गरिएको छ।

उनी पक्राउ परेमा निलम्बित हुने सांसदको संख्या ६ पुग्नेछ। पक्राउ पुर्जी जारी भइसकेको अवस्थामा गुरुङले पनि संसदीय गतिविधिमा भाग लिन पाउनेछैनन्। अब संसद्को कारबाहीमा भाग लिन २ सय ६८ सांसदमात्र योग्य हुनेछन्। यीमध्ये २२ जना मन्त्री र ३ जना राज्यमन्त्री छन्। आजको नागरिक दैनिकमा इश्वरी सुवेदीले खवर छापेका छन् ।



प्रतिक्रिया दिनुहोस्