Logo

कमरडेहरुमा बक्स्योस् बोली



समाचार विश्लेषणः बक्स्योस् जस्ता उच्च आदरार्थी शब्द नेपालीहरुले पनि विदेशीबाट सिकेका हुन् । उर्दु र अरेबिकमा उच्च आदरार्थी यस्ता शब्दको अत्याधिक प्रयोग हुनेगर्छ ।

नेपालका राजपरिवार र उनीहरुनिकटले प्रयोग गर्ने गरेको बक्स्योस्, हजूर, ज्यूनार जस्ता शब्दहरुप्रति सबैभन्दा हेला नेपालका कम्युनिष्ट नेताहरुले गरेका थिए । यस्तो शब्दको प्रयोगलाई सामन्ती भाषा सम्म भन्थे ।

एक अर्कालाई कमरेड भन्छन् कम्युनिष्ट नेता कार्यकर्ता । यो पनि नेपाली भाषा होइन । विदेशी आयातित भाषा हो । जसरी बक्स्योस् र हजूर उर्दू र अरेबिक भाषाबाट आयातित हो कमरेड पश्चिमतिरबाट आयातित भाषा हो । दुवै आयातित भाषा हुन् ।

कमरेडहरु आजकाल बक्स्योस् र हजूर भन्न रुचाउन थालेका छन् । नेपालका अधिकांश कम्युनिष्ट पार्टीका घरहरुभित्र यी शब्द प्रचलित छन् ।
आफ्नो पालामा बक्स्योस् र हजूर शब्द बहिष्कार गरेका नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको घरमा नयाँ आएका बुहारीले बक्स्योस् र हजूर शब्द प्रयोग गर्न थाले । नेताहरुले यो शब्द प्रयोग नगर्न भन्न पनि सकेनन् । अहिले तिनका सन्तान दरसन्तान बक्स्योस् र हजूर शब्द प्रयोग गर्छन् ।

प्रधानमन्त्री र मन्त्री भइसकेका कमरेडहरुलाई सेना र प्रहरीले बक्स्योस् र हजूर प्रयोग गर्दै आएका छन् । यसलाई उच्च आदरार्थी सम्झेर सहज मान्छन् ।
कमरेडहरुमा हजूर र बक्स्योस् सुन्दा आनन्द मान्न थालेपछि पत्रकारहरुले तिमी लेखेको र मिडियामा बोलेको सुन्न चाहँदैनन् । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुले घरमा बाबुआमालाई पनि तिमी भन्छन् भने । समानताको विषय उठाउने प्रधानमन्त्रीको मुखबाट यो बोली आएपछि यसले बहस जन्माएको छ ।

व्यक्तिगत रुपमा बोल्दा अहिले पनि आफूभन्दा ठूलो या सम्मानितलाई तपाईं र हजूरको प्रयोग गरिन्छ । मिडियाले सबैलाई समान ठानेर तिमी शब्द चयन गरेर प्रचलनमा ल्याएको छ । यसलाई प्रधानमन्त्रीले रुचाएनन् ।

राजाको पालामा राजपरिवारका सदस्यलाई बक्स्योस् शब्द प्रयोग गरिन्थ्यो । प्रधानमन्त्री र मन्त्रीलाई तपाईं र बाँकीलाई तिमी सम्म प्रयोग गरिन्थ्यो । अहिले प्रधानमन्त्री ओलीले तपाईं र हजूर शब्द मिडियामा पनि खोजेका छन् । कमरेडहरुको घर परिवारमा तपाईंबाट बक्स्योस् या स्योस् हजूरमा रुपान्तरण देखिएको छ । जुन मिडियामा पनि खोजिएको छ ।

File Photo



प्रतिक्रिया दिनुहोस्