Logo

प्रहरी अतिरिक्त महानिरीक्षकले दिए धन्यवाद



काठमाडौं, ३० असोज । प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले चीनका महामहिम राष्ट्रपतिको दुईदिने नेपाल भ्रमणको सिलसिलामा सुरक्षा व्यवस्थापनलाई मजबुत बनाई उत्कृष्ट रुपमा आ–आफ्नो जिम्मेवारी त्रुटिरहित तवरले सम्पन्न गरेकोमा महानगरीय प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बिहीबार आयोजित कार्यक्रममा धन्यवाद दिएका छन् ।

सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय गृहमन्त्रीज्यू एवम् चीन सरकारबाट समेत उच्च प्रशंसा भएको उल्लेख गर्दै निमित्त प्रहरी महानिरीक्षक कार्कीले सबै प्रहरी कर्मचारीहरुको इमानदार प्रयासले विशिष्ट व्यक्तिको सुरक्षामा नेपाल प्रहरीले आफ्नो भूमिका सक्षमताका साथ प्रदर्शन गर्न सफल भएको बताए । उनले इमानदारिता, पारदर्शीता, व्यवसायिकता र निष्ठायुक्त प्रयासबाट नै सुरक्षाको अत्यन्त प्रभावकारी व्यवस्थापन सम्भव भएको समेत बताए ।

नेपाल प्रहरीको छविलाई थप उचाईमा र्पुयाउन जनआस्था र भरोसामा केन्द्रीत भई कार्य सम्पादन गर्न प्रहरी कर्मचारीहरुलाई निमित्त प्रहरी महानिरीक्षक कार्कीले निर्देशन समेत दिए । यस्ता विशिष्ट योगदान र कार्यबाट प्राप्त अनुभवलाई आगामी दिनमा अझै उत्कृष्ट तरीकाले प्रयोग गर्दै अगाडि बढ्नुपर्ने चर्चा गर्दै उहाँले सामूहिक तथा पारस्परिक सहयोगको भावनाले काम गरेमा सफलता हासिल गर्न सहज हुने तथ्य पुष्टि भएको विचार व्यक्त गरे ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमले नागरिक तथा सरोकारवाला निकायसँग सहकार्य गरी नागरिकमैत्री सेवा प्रदान गर्न सहज भएको उल्लेख गर्दै उनले यस कार्यक्रमलाई थप सक्रियताका साथ अगाडि लैजानुपर्ने आवश्यकता रहेको बताए । साथै नजिकिंदै गरेका महान चाड शुभ दिपावली, छठ पर्व एवम् नेपाल संवतको सबैलाई शुभकामना दिँदै उक्त समयमा कुनै पनि अपराधिक गतिबिधि हुन नदिन थप सक्रिय रुपमा जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए ।

सोही अवसरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले धन्यवाद ज्ञापन गर्दै उक्त भ्रमणको समयमा सुरक्षा व्यवस्थापनलाई चुनौतिका रुपमा ग्रहण गरी प्रहरीको सहज क्षमता प्रर्दशनबाट सफलता प्राप्त भएको चर्चा गरे ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, महानगरीय प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्