Logo

ट्रम्प र पुटिन नेपाल भ्रमणमा आउनसक्ने सरकारको खुलासा (भिडियोसहित)



काठमाडौं, ३० असोज । सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत शक्तिराष्ट्रका राष्ट्र प्रमुखहरुलाई नेपाल भ्रमण गराउने पहल भइरहेको जानकारी दिएको छ । त्यसका लागि कुटनीतिक तहबाट अभ्यास भइरहको खुलाएको छ ।

आज सिंहदरबारमा मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका सरकारका प्रवक्ता गोकुल बास्कोटाले बलिया देशका राष्ट्रपतिहरु ल्याउने पहल भइरहेको बताए । ‘हेर्दै जानुहोस् अब विस्तारै विभिन्न देशका राष्ट्रप्रमुखहरु नेपाल भ्रमणमा आउनुहुनेछ,’ उनले भने, ‘बलिया देशका राष्ट्रपतिहरुलाई नेपालमा आमन्त्रण गरेर भ्रमण गराउने पहल भएको छ ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले समेत यस्ता भ्रमणको अपेक्षा गरेको जानकारी दिए ।

नेपाल विश्वभर फखेटा फिजाएर जानसक्ने अवस्थामा पुगेको भन्दै अब सगरमाथाको देशमा शक्तिराष्ट्र र संसारभरका राष्ट्रप्रमुखहरुलाई आमन्त्रण गरिने बताए । उनले भने, ‘हामी सगरमाथा संवाद गर्दैछौं र त्यसमा विश्वभरका राष्ट्रप्रमुखहरुलाई निम्तो दिन्छौं ।’ आवश्यकता र अनुकूलता हेरेर विश्वका शक्तिाशाली देशका राष्ट्रप्रमुखहरुले नेपाल भ्रमण गर्ने बताए । तर, उनले कुन देशको राष्ट्रप्रमुखले नेपाल भ्रमण गर्ने खुलाउन चाहेनन् ।

सरकारले उच्चस्तरीय राजनीतिक भ्रमणलाई प्राथमिकतामा राखेको समेत बताए । छिमेकी र अन्य देशका राष्ट्रप्रमुखहरुको नेपाल भ्रमणले निर्माण र प्रगतिको दिशामा आधारहरु तयार हुने उनको भनाई थियो ।

यसअघि सरकारले शक्तिशाली देशका राष्ट्र प्रमुखहरुलाई नेपाल भ्रमणमा ल्याउने पहल थालेको खुलासा भएको थियो । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि संयुक्त राज्य अमेरिका र रुसका राष्ट्रपतिलाई समेत नेपाल भ्रमणमा ल्याउने गरी सरकारले पहल थालेको सत्तारुढ दलकै एकजना प्रभावशाली नेताले खुलाएका थिए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणमा निम्तो दिने तयारी भएको खुलासा गरेका हुन् । ट्रम्प र पुटिनलाई नेपाल ल्याउन सरकारले कुटीतिक पहल थालिसकेको उनको खुलासा थियो । ऋषि धमलासँग जनता जान्न चाहन्छन् कार्यक्रममा उनले भने, निकट भविष्यमा ट्रम्प र पुटिन पनि नेपाल आउनुहुन्छ, त्यसकालागि हामीले पहल थालिसकेका छौं ।

नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले देशलाई नयाँ उचाईमा पुर्याएको दाबी गरे । कुटनीतिक रुपमा सरकार सफल भएको भन्दै नेपालमा विश्वका शक्तिशाली देशका नेताहरु भ्रमणमा आउने बताए ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आएलगत्तै नेपालप्रति अन्तर्राष्ट्रिय चासो बढेको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई वासिङटनमा निम्तो गरी भेटवार्ता गरिसकेका छन् । अमेरिकाको नेपालमा चासो बढिसकेको छ । तर, अमेरिकी उच्च अधिकारीको भ्रमणको सम्भावना न्यून छ ।

रुससँग नेपालको लामो कुटनीतिक सम्बन्ध रहेपनि उच्च तहमा भ्रमण नभएको दशकौं भइसकेको छ । यस अवस्थामा विश्वका शक्तिशाली नेतामध्येका रुसी राष्ट्रपति पुटिनको भ्रमणको सम्भावना पनि न्युन छ । यस अवस्थामा नेकपाका उपाध्यक्ष वामदेव गौतमको दाबीलाई अर्थपूर्ण भने मान्नुपर्छ ।

हेर्नुहोस् भिडियो:



प्रतिक्रिया दिनुहोस्