Logo

मन्त्रीहरुको फेरबदलको दिशामा बढ्न लागेको झलनाथ खनालको खुलासा



काठमाडौं, ३० असोज । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारको समिक्षा भइरहेको बताएका छन् । उनले सरकारमा रहेका मन्त्रीहरुको फेरबदलको दिशामा बढ्ने खुलासा गरे । उनीसँग ऋषि धमलाले प्राइम टाइम टेलिभिजनमा बुधबार गरेको विशेष कुराकानीः

यो चियापानको सन्देश के हो ?
हाम्रो देशमा दशैं तिहारको बीचमा चियापान गर्ने गरिन्छ । यसले सम्पूर्ण नेपाली जनताका परिवारलाई पुनर्मिलनको सन्देश दिन्छ । यसले एकता, प्रगति, विजय र प्रकृति पूजाको पनि सन्देश दिन्छ । यसमा नौं नौंवटा देवीको पूजा गर्ने गर्दछौं । यसमा मातृसत्ताको पनि सम्मान गरिएको पाइन्छ । गणप्रमुख हुन् ती देवीहरु । त्यस कारण हाम्रो देशमा दशैंले धेरै प्रकारका सम्झना र सम्मान गरेको पाइन्छ ।
अहिलेको सरकार किन सफल हुन सकेन ?
हामीसँग धेरै सम्भावनाहरु छन् । त्यसमा नीति, कार्यक्रम, साधनस्रोत सबै छन् । अन्तर्राष्ट्रिय जगतबाट पनि सहयोग र समर्थनहरु उपलब्ध भइरहेको छ । दुई छिमेकी मुलुकहरुसँग पनि राम्रा सम्बन्धहरु विकसित भइरहेका छन् । तर, सरकारले राम्रोरी काम गर्न सक्नुपर्छ । त्यसमा सरकारसामु चुनौति छ । त्यो चुनौतिको सामना गरेर काम गर्न सक्नुपर्छ । काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाएर काम गर्न सक्ने राख्नुपर्छ ।
तपाईं मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्छ भन्नेपक्षमा हुनुहुन्छ हो ?
जुन कोर्सबाट हामीहरु अगाडि बढिरहेका छौं । त्यसमा फेरबदल, पुनर्गठन त हुन्छ नै ।
कुन–कुन मन्त्रीहरुलाई हटाउँदै हुनुहुन्छ, नयाँ को–को आउँदैछन् ?
अहिले नै हामी त्यसबारेमा पुगिसकेका छैनौं । तर, हामी समीक्षा गर्दैछौं । अब स्थायी कमिटीको बैठक राख्छौं । त्यसले पनि नीतिनिर्देशन दिन्छ । त्यसपछि त्यो दिशामा अगाडि बढ्छौं ।
त्यसोभए वर्तमान सरकार सफल हुन्छ अब ?
यो सरकारले सफल हुनुको विकल्पै छैन । यसले जसरी पनि सफलता प्राप्त गर्नुपर्छ । हिजोका प्रतिप्रद्धता अनुरुप नेपाली जनताका इच्छा, आकांक्षा र चनाअनुसार काम गर्नुपर्छ ।

File Photo



प्रतिक्रिया दिनुहोस्