Logo

ट्रम्प छोरी इभान्कालाई राजनीतिमा अगाडि बढाउँदै



धेरैका लागि अमेरिकामा महिला राष्ट्रपति बन्न नसकेको विषय चासोमा परेको छ । हिलारी क्लिन्टन राष्ट्रपति बन्नबाट एक पाइलाले मात्र चुकिन् ।

अब अमेरिकामा महिला राष्ट्रपतिको सम्भावना भएमा धेरैको ध्यान मिसेल ओबामा र इभान्का ट्रम्पतिर जानसक्छ । मिसेल निवर्तमान राष्ट्रपति बाराक ओबामाकी पत्नी हुन् भने इभान्का बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पी छोरी हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छोरी इभान्का ट्रम्पलाई ह्वाइट हाउसको प्रमुख सल्लाहकार बनाउँदा विरोध र अनुमान दुवै भएका थिए । ह्वाइट हाउसमा नातावादलाई प्रश्रय दिएको भन्दै विरोधीले आवाज उठाए ।

ट्रम्पले छोरीलाई ब्यापार देखि बाहिरी दुनियाँमा चिनाउने सम्मका कार्यक्रमा महत्व दिदै आएका थिए । उनले आफ्ना अन्य सन्तानभन्दा इभान्कालाई बढी अवसर दिदै आएका छन् ।

यसपटकको जी ट्वेन्टी सम्मेलनमा ट्रम्पले इभान्कालाई साथै लगे । पत्नी मेलानिया ट्रम्पलाई लगेनन् । विश्वका प्रभावशाली नेताहरुसँगको भेटमा राखे । राजनीतिक र कुटनीतिक अनुभव सिकाउन ट्रम्पले इभान्कालाई बाहिरी दुनियाँमा समेत परिचित गराइरहेको देखिदैछ ।

उत्तर कोरियामा पाइला राख्दा पनि ट्रम्पको साथमा इभान्का थिइन् । थोरै अमेरिकीहरु उत्तर कोरिया टेक्नेमध्येमा पर्छन् । ट्रम्प उत्तर कोरिया टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बने । उत्तर कोरिया टेक्ने भाग्य इभान्कालाई पनि जुर्यो ।

दक्षिण कोरियामा पुगेपछि ट्रम्पले बिदाई कार्यक्रममा सहभागी भए । अमेरिकी सेना रहेको दक्षिण कोरियाको ओसानामा उक्त कार्यक्रम भएको थियो । अमेरिकाले त्यहाँ हवाई अड्डा राखेको छ ।

अमेरिकी सेनालाई सम्बोधन गर्ने क्रममा ट्रम्पले छोरी इभान्काको नाम मात्र लिएनन् स्टेजमा डाके । इभान्कालाई सुन्दर महिला भनेर प्रशंशा गरे । इभान्का र विदेशमन्त्री माइक पम्पिओलाई एक साथ डाके ।

मुस्कुराउँदै स्टेजमा पुगेकी इभान्कालाई सम्बोधन गर्न पनि लगाए । ट्रम्पले छोरी इभान्कालाई कसरी अवसर दिदै राजनीति प्रशिक्षण दिइरहेका छन् भन्ने उदाहरण हो यो । धेरैले इभान्का भविष्यमा अमेरिकाको राष्ट्रपतिको आकांक्षी हुन् भन्न थालिसकेका छन् ।

व्यापारको दुनियाँमा प्रशिक्षित भइसकेकी उनलाई ट्रम्पले प्रशासनिक प्रशिक्षण हुँदै कुटनीतिक प्रशिक्षण दिदैछन् । यो ट्रम्पको छोरी इभान्कालाई भावी राष्ट्रपतिका रुपमा तयार गरिरहेको सन्देश पनि हो । -एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्