Logo

ओली-महरा द्धन्द्धको खुलासाः पश्चिमाप्रतिको दृष्टिकोणमा थियो मतभेद



काठमाडौं, १ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली केही महिनायता तत्कालिन सभामुख कृष्णबहादुर महरासँग असन्तुष्ट थिए । पश्चिमाहरुप्रति महराको दृष्टिकोण नरम थिएन । महराका कारण संसदमा टेबुल भइसकेको एउटा सम्झौता संसदमा टेबुल भएर पनि अनुमोदनका लागि अगाडि बढाइएन ।

अमेरिकाको विकास रणनीति मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अनुदानको सम्झौता नेपालको संसदबाट अनुमोदन गर्नुपर्ने सर्त रहेको छ । सर्त अनुसार संसदमा टेबुल गरिएको विषय महराले अड्काए । प्रधानमन्त्री ओलीले कान्तिपुरसँगको अन्तवार्तामा महराप्रति असन्तुष्टि जनाएका छन् । कान्तिपुरले ओलीको भनाई उदृत गर्दै लेखेको छ, ‘तत्कालीन सभामुखजीले अलिक बेठिक गर्नुभयो । कस्ले के भनिदियो उहाँ विचारगरौ भन्नेतर्फ लाग्नुभयो ।’

आलीले महरा अन्यत्रबाट प्रभावित भएको आरोप लगाउँदै भने, ‘सरकारले टेबुल गरिसकेपछि अन्यत्रका दृष्टिकोण र छलफलका आधारमा अनुमोदनका लागि प्रस्तुत नगर्नु कर्तव्यभन्दा परको भयो ।’

एमसीसी संसदमा टेबुल हुँदा नेपाल कम्युनिष्ट पार्टीकै प्रमुख सचेतक देव गुरुङले अमेरिका र पश्चिमाहरुले नेपालमा सैन्य अखडा बनाएर छिमेकीहरुलाई दुःख दिन खोजेको आरोप लगाएका थिए । उनले संसद भित्र र बाहिर समेत अमेरिकाको खुलेर आलोचना गरे ।

महरा प्रकरणमा पश्चिमाहरुको षड्यन्त्र हुनसक्ने भन्दै देव गुरुङले यसलाई संयोग मात्र नभएको बताइरहेका छन् । उनले एनआरएन रेडियोमा ऋषि धमलासँग भनेका छन्, ‘महराजीको कमजोरी भयो तर उहाँमाथि पश्चिमाहरुको षड्यन्त्र देखिन्छ ।’

महराले एमसीसी सम्झौता संसदमा अनुमोदनका लागि अगाडि नबढाएको विषय प्रधानमन्त्री ओलीले नै खुलासा गर्दै असन्तुष्टि देखाउनु र प्रचण्ड निकट नेकपाका प्रमुख सचेकत देव गुरुङले महरामाथि पश्चिमाहरुको षड्यन्त्र हुनसक्ने बताउनुलाई अर्थपूर्ण मानिएको छ । महरा प्रकरणपछि देखिएका घटनाक्रममा गुरुङले एकपछि अर्को षड्यन्त्र रहेको दाबी गरेका छन् । ओलीको पछिल्लो अभिव्यक्तिले निकै अर्थ राखेको छ जसले नेकपाभित्र अमेरिका र पश्चिमा देशहरुलाई हेर्ने दृष्टिकोणमा व्यापक मतभेद खुलेको छ ।
File Photo



प्रतिक्रिया दिनुहोस्