Logo

अवैध रुपमा पहाड फोरेर प्लटिङ, ललितघुम्तीलाई क्षति (तस्बिरसहित)



ललितपुर, १ कात्तिक । पहिले रुखविरुवा काटियो । विस्तारै पहाड फोरेर प्लटिङ गर्न थालियो । हरियो डाँडो कुरुप बनाउने गरी दक्षिणपूर्वी ललितपुरमा धमाधम प्लटिङ गर्न भूमाफिया सक्रिय भएका छन् ।

महालक्ष्मी नरगरपालिका ८ शंखादेवीको डाँडोमा निरन्तर पहाड फोरेर प्लटिङ हुन थालेको छ । यसले जिल्लाको रणनीतिक महत्वको ललितघुम्तीमा क्षति पुगेको छ ।

ललितघुम्तीलाई क्षति पुग्ने गरी भइरहेको प्लटिङ र यसले हरियो डाँडोलाई कुरुप बनाएको दृश्य टाढैबाट पनि देख्न सकिन्छ । काठमाडौंको कुनै अग्लो ठाउँमा उभिएर देख्न सकिने यो दृश्यलाई स्थानीय जनप्रतिनिधि, प्रशासन र प्रहरीले भने देखिरहेको छैन ।

स्थानीय बासिन्दा आक्रोशित भई प्लटिङ रोक्न पुग्दा माफियाहरुले उल्टो धम्की दिएको बुझिएको छ । ललितघुम्ती समेत सार्नसक्ने हैसियत छ भन्दै माफियाहरुले चेतावनी दिएका छन् । माफियाहरु डाँडो ध्वस्त पार्न लाग्दा पनि जिम्मेवार अधिकारीहरु मौन रहेपछि त्यहाँ कुनै पनि समयमा भिडन्तको खतरा बढेको छ ।

यससम्बन्धमा स्थानीय जनप्रतिनिधिसँग सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् । महानगरीय प्रहरी परिसर ललितपुरले भने कानुन बमोजिम कारबाहीका लागि कदम चाल्ने बतायो ।

वनजंगल माँसेर कित्ताकाटमा मालपोत र नापी कार्यालय ललितपुरको समेत मिलेमतो देखिएको छ । यसउपर छानविन अगाडि बढेमा सबै कारबाहीमा पर्ने देखिएको छ ।

तस्बिरः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्