Logo

महावीर पुनको नेतृत्वमा आविष्कार केन्द्र : यस्तो छ विशेषता(तस्विर)



काठमाण्डौ । नेपालमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने अभियान संचालन गर्नुभएका वैज्ञानिक महाविर पुन अन्ततः सफल भएका छन् । सरकारसँग केन्द्र स्थापनाका लागि हार गुहार गरेका पुनले जनस्तरबाट र विदेशीहरुले पनि गरेको करिव ८ करोड बजेटमा सो केन्द्र स्थापना गरिएको हो ।

शुक्रबार काठमाडौंमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरिएको हो । वैज्ञानिक तथा सामाजिक अभियन्ता पुनको नेतृत्वमा शुक्रबार काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन गरिएको हो ।

नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिने खालका कुनै पनि क्षेत्रको बस्तुहरुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी सो केन्द्र स्थापना गरिएको हो ।

केन्द्रमा हाल २० वटा प्रोजेक्ट संचालनमा आएका छन । ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम सुरु गरिएको छ । केन्द्रले हाल चितवनमा कुखुराको दाना र माछा पालनका लागि काम गरिरहेको छ ।

त्यसैगरी पर्यटन, कृषिका क्षेत्रमा पनि पोखरा, विराटनगरलगायतका सहरमा काम सुरु गरिएको छ । केन्द्रका अध्यक्ष पुनले नयाँ आविष्कारको क्षेत्रमा काम गर्न केन्द्रले शैक्षिक योग्यताको माग नगर्ने पनि स्पष्ट पारेका छन् ।

उनले नयाँ काम गरेर उद्यमी बन्न र रोजगारीको अवसर सृजना गर्ने कामका लागि आवश्यक बजेट र सामग्रीहरुको पनि सहायता गर्ने पनि बताए ।

नेपालको ग्रामिण क्षेत्रमा पहिलो पटक इन्टरनेट सेवा संचालनमा ल्याएका युवा वैज्ञानिक पुनले सो राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको पनि नेतृत्व गरेका हुन् । पुनले उदाहरणीय काम त गरेका छन् । तर यसलाई सफल बनाउनका लागि सरकारले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने देखिन्छ ।

 

तस्विर : कमलमणि पोख्रेल/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्