Logo

अमेरिकी रणनीतिप्रति ओली-प्रचण्ड मतभेद



काठमाडौं, १ कात्तिक । अमेरिकाको विकास रणनीतिप्रति सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबीचको मतभेद सतहमा आएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच मतभेद खुलेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास रणनीति भन्दै अमेरिकासँग भएको एमसीसी सम्झौता संसदबाट हिउँदे अधिवेशनमा पारित गरिने बताएका छन् । उनले बर्खे अधिवेशनमा पारित गर्नुपर्नेमा तत्कालिन सभामुख कृष्णबहादुर महराले अड्काएको आरोप लगाए । कान्तिपुरसँगको अन्तवार्तामा उनले भनेका छन्,’ तत्कालीन सभामुखजीले अलिक बेठिक गर्नुभयो । कस्ले के भनिदियो उहाँ विचारगरौ भन्नेतर्फ लाग्नुभयो ।’

तर, प्रचण्डले शुक्रबार धनगढीमा महराका कारण मात्र एमसीसी सम्झौता संसदमा अनुमोदन गर्ने विषयमा बाधा नपुगेको बताए । महराले एमसीसी सम्झौता रोक्न नखोजेको बताउँदै उनले बीबीसीसँगको अन्तवार्तामा भने, ‘पार्टीले एउटा स्पष्ट धारणा र व्याख्यासहित आउन आवश्यक छ भन्नुभयो होला । रोक्न खोजेको भन्ने चाहिं मलाई थाहा छैन ।’ सभामुखले मात्रै एमसीसी सम्झौता संसदबाट पारित गर्नबाट रोकेर सम्भव हुने कुरा नभएको जिकिर गरे ।

ओलीले हिउँदे अधिवेशनमा एमसीसी सम्झौता संसदबाट पारित गरिने बताइरहँदा प्रचण्डले यो विषयमा पार्टीमा औपचारिक ढंगबाट छलफल नभएको बताए । उनले एमसीसी सम्झौता संसादबाट पारित गर्ने सन्दर्भमा भने, ‘यस सम्बन्धि केही प्रश्न उठेका छन् ।’

प्रचण्डले एमसीसीलाई अमेरिकाको इन्डो प्यासिफिक रणनीतिक अन्र्तगत रहेको तर्क गर्दै गम्भीरता देखाएका छन् । अमेरिकाले पनि यसलाई उक्त रणनीति अन्र्तगत बताउँदै आएको छ । तर, प्रधानमन्त्री ओलीले यसलाई इन्डो प्यासिफिक रणनीतिभन्दा भिन्न भन्दै व्याख्या गरेका छन् । उनले एमसीसी नितान्त विकास रणनीति भएकाले संसदबाट पारित गरिने बताए ।

एमसीसी भनिने अमेरिकी अनुदान सम्झौताबारे सत्तारुढ दलमा व्यापक मतभेद रहेको स्पष्ट भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली केही महिनायता तत्कालिन सभामुख कृष्णबहादुर महरासँग असन्तुष्ट रहेको पनि खुल्यो । पश्चिमाहरुप्रति महराको दृष्टिकोण नरम थिएन । महराका कारण संसदमा टेबुल भइसकेको एउटा सम्झौता संसदमा टेबुल भएर पनि अनुमोदनका लागि अगाडि बढाइएन ।

अमेरिकाको विकास रणनीति मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी भनिने अनुदानको सम्झौता नेपालको संसदबाट अनुमोदन गर्नुपर्ने सर्त रहेको छ । सर्त अनुसार संसदमा टेबुल गरिएको विषय महराले अड्काए । प्रधानमन्त्री ओलीले कान्तिपुरसँगको अन्तवार्तामा महराप्रति असन्तुष्टि जनाउँदै कान्तिपुरसँग भने, ‘तत्कालीन सभामुखजीले अलिक बेठिक गर्नुभयो । कस्ले के भनिदियो उहाँ विचार गरौ भन्नेतर्फ लाग्नुभयो ।’

आलीले महरा अन्यत्रबाट प्रभावित भएको आरोप लगाउँदै भने, सरकारले टेबुल गरिसकेपछि अन्यत्रका दृष्टिकोण र छलफलका आधारमा अनुमोदनका लागि प्रस्तुत नगर्नु कर्तव्यभन्दा परको भयो ।

एमसीसी संसदमा टेबुल हुँदा नेपाल कम्युनिष्ट पार्टीकै प्रमुख सचेतक देव गुरुङले अमेरिका र पश्चिमाहरुले नेपालमा सैन्य अखडा बनाएर छिमेकीहरुलाई दुःख दिन खोजेको आरोप लगाएका थिए । उनले संसद भित्र र बाहिर समेत अमेरिकाको खुलेर आलोचना गरे ।

महरा प्रकरणमा पश्चिमाहरुको षड्यन्त्र हुनसक्ने भन्दै देव गुरुङले यसलाई संयोग मात्र नभएको बताइरहेका छन् । उनले एनआरएन रेडियोमा ऋषि धमलासँग भनेका छन्, ‘महराजीको कमजोरी भयो तर उहाँमाथि पश्चिमाहरुको षड्यन्त्र देखिन्छ ।’

महराले एमसीसी सम्झौता संसदमा अनुमोदनका लागि अगाडि नबढाएको विषय प्रधानमन्त्री ओलीले नै खुलासा गर्दै असन्तुष्टि देखाउनु र प्रचण्ड निकट नेकपाका प्रमुख सचेकत देव गुरुङले महरामाथि पश्चिमाहरुको षड्यन्त्र हुनसक्ने बताउनुलाई अर्थपूर्ण मानिएको छ । महरा प्रकरणपछि देखिएका घटनाक्रममा गुरुङले एकपछि अर्को षड्यन्त्र रहेको दाबी गरेका छन् । ओलीको पछिल्लो अभिव्यक्तिले निकै अर्थ राखेको छ जसले नेकपाभित्र अमेरिका र पश्चिमा देशहरुलाई हेर्ने दृष्टिकोणमा व्यापक मतभेद खुलेको छ । जसलाई प्रचण्डले आज धनगढीमा पुगेर अझ खुलाइदिए ।

इन्डो प्यासिफिक रणनीतिप्रति प्रचण्ड असन्तुष्ट छन् । यसलाई देव गुरुङले अमेरिकाको दक्षिण एशियामा अशान्ति फैलाउने रणनीति भनी आरोप लगाएका छन् ।
File Photo



प्रतिक्रिया दिनुहोस्