Logo

सौराहामा रात्रिकालीन जिप सफारीको तयारी



भरतपुर, २ कात्तिक : पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी चितवनको सौराहामा रात्रिकालीन जीप सफारीको तयारी गरिएको छ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको सौराहामा पर्यटकलाई आकर्षित गर्दै बसाई लम्ब्याउनका लागि तिहारलगत्तै रात्रिकालीन जीप सफारीको तयारी गरिएको क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए ।

रात्रिकालीन जीप सफारीका लागि रुट निर्धारण भइसकेको उनले बताए । “सौराहाबाट कुमरोज मध्यवर्ती सामुदायिक वन हुँदै लोथरसम्म सफारीको तयारी गरेका छौँ”, उनले भने , “पहिलो चरणको स्थलगत निरीक्षण भइसकेको छ ।” उहाँले छिट्टै सांसद, जनप्रतिनिधि, निकुञ्ज, मध्यवर्ती सामुदायिक वनका प्रतिनिधिसहितको सर्वपक्षीय छलफलको आयोजना गरेर जीप सफारीको अन्तिम निर्णय लिइने बताए । रात्रिकालीन जीप सफारी नेपालमै पहिलो भएको उनको दाबी छ ।

सफारी हुने क्षेत्रको एकापट्टि मध्यवर्ती सामुदायिक वन र अर्कापट्टि निकुञ्ज क्षेत्र राप्ती नदी पर्छ । राप्ती नदीको किनारमा करीब चार घण्टाको जीप सफारी गर्न सकिने भट्टराईले बताए । सौराहादेखि लोथरसम्म करीब ३० किलोमिटरको दूरी पर्छ । “पर्यटन भ्रमण वर्ष २०२० मा चितवन आउने पर्यटकलाई केही नयाँ कुरा दिउँ भन्ने उद्देश्यले यो प्याकेज ल्याउन लागेका हौँ”, उनले भने , “यसले आन्तरिक र बाह्य पर्यटक बढ्ने अपेक्षा गरेका छौँ ।”

कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेशकुमार श्रेष्ठले रात्रिकालीन जीप सफारीले मध्यवर्ती सामुदायिक वनको आयआर्जन वृद्धि हुने बताउनुभयो । “आम्दानीको ६० प्रतिशत वनकै संरक्षणमा खर्च गर्ने गरेका छौँ”, उनले भने , “रात्रिकालीन जीप सफारीसँगै संरक्षणका थप कार्यक्रमसमेत ल्याउने तयारी गरेका छौँ ।” जङ्गल सफारीका लागि आउने पर्यटकका लागि यो रात्रिकालीन सफारी नयाँ प्रयोग हुने उनको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) नारायण रुपाखेतीले राज्यले घोषणा गरेको महाअभियान पर्यटन वर्षका लागि चितवन राष्ट्रिय निकुन्जको साथ रहने बताउनुभयो । उनले भने , “हामी निकुञ्जको ऐन नियमको परिधिमा छौँ, त्यसका आधारमा मात्र विभिन्न गतिविधि गर्न सक्छौँ, संरक्षणसँगै पर्यटनका गतिविधि हुन्छ ।” उनले निकुञ्जमा जीप सफारी र अन्य गतिविधि गर्दा संरक्षणमा विशेष ध्यान दिइनुपर्ने बताए ।

“निकुञ्जमा पर्यटक घुमाउन प्रयोग हुने जीप प्रदूषणको मापदण्ड पूरा गरी हरियो स्टीकर टाँसेको हुनुपर्छ, कानूनी र भौतिक हिसाबले सुरक्षित हुनुपर्छ”, उनले बने । निकुञ्जभित्र सकेसम्म विद्युतीय सवारीसाधन प्रयोग गर्नुपर्नेमा उनको जोड छ । पछिल्लो समय निकुञ्जभित्र प्रवेश गर्ने सवारीसाधनमा निकुञ्जले ट्राकिङ डिभाइस जडान गरेको उनले जानकारी दिए । उनले डिभाइसमार्फत कुन गाडी कहाँ र कस्तो अवस्थामा छ भन्ने जानकारी निकुञ्जको कार्यालयमै बसेर हेर्न सकिने बताए ।

विशेषगरी चितवन राष्ट्रिय निकुञ्ज अवलोकन, हात्ती सफारी र जीप सफारीका लागि पर्यटक सौराहा आउने गरेका छन् । साना तथा ठूला १५० होटल र ८० रेष्टुराँ रहेको सौराहामा सात हजार पर्यटक अट्ने क्षमता रहेको छ । गत वर्ष सौराहामा स्वदेशी तथा विदेशी गरी डेढ लाख पर्यटक भित्रिएका थिए । चितवन आउने पर्यटकमध्ये ८० प्रतिशतले सौराहा घुम्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्