Logo

संस्थापक अध्यक्ष डा. महतोले भनेबमोजिम एनआरएनएमा राजनीतिक चलखेल बन्द गराउँछु : अध्यक्ष पन्त (भिडियोसहित)



काठमाडौं, २ कार्तिक । गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले आजैबाट आफूले नेपालमा वार्षिक दश अर्व पैसा ल्याउनको लागि काम गर्न सुरु गर्ने बताएका छन् । संघको काठमाडौंमा हिजो सम्पन्न भएको नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि पहिलोपटक प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दैै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले एनआरएनए जादुको छडीजस्तो नभएको पनि स्पष्ट पारे । उनले भने,‘यो संस्था जादुको छडी लिएर बसेको संस्था होईन । हामी के चाहन्छौं भने संसारभर छरिएर रहेका ८० लाख नेपालीहरुलाई एकीकृत गर्दै ती साथीहरुले सिकेको ज्ञान, सिप, प्रविधि र पुँजीलाई नेपालको समृद्धिको निम्ति लगाउन चाहन्छौं ।’

भर्खरै आफूहरुले नेपाल सरकारसँग कमसेकमपनि दश अर्व बराबरको म्युच्युल फण्ड नेपाल ल्याउने भनेर एमओयु गरेको पनि उनले सुनाए । उनले भने,‘त्यो काम भोलिदेखि नै सुरु हुन्छ । हाम्रो संगठनको संगठनात्मक संरचना परिवर्तन गर्नुपर्ने आवश्यकत्ता पनि हामीले महशुस गरेका छौं ।’ त्यस्तै, उनले आफूहरुको संगठनमा राजनीति हाबी भएको पनि बताए । पन्तले भने,‘हिजो अस्ति मात्रै ह्यात होटलमा हेर्नुहुन्छ भने ठूला पार्टी ठूला नेताहरुले कोठा कोठामा चाहार्नुभएको छ । अर्को कुरा हाम्रो संस्थाभित्र आर्थिक विकृति भित्रिएको महशुस हामीले गर्यौं ।’ उनले आगामी महाधिवेशन नेपालमा नगर्ने पनि घोषणा गरे । उनले भने,‘अब नेतृत्व चयन गर्न लाईन लागेर भोटिङ गर्नुपर्ने आवश्यकत्ता छैन् ।’ आगामी दिनमा संस्थाको पँजीकृत सदस्य बन्नको पैसा खर्च गर्न नपर्ने पनि आफूले व्यवस्था गर्ने उनको घोषणा छ ।

https://youtu.be/t3kftKWtHUA

पन्तले संस्थाका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले आफूलाई बधाई दिएको र सबैलाई समेटेर अघि बढ्न शुभकामना दिएको सुनाए । संघसँग राज्यले धेरै अपेक्षा गरेको भनेर महतोले आफूलाई सही दिशामा संघलाई लैजानुपर्ने भन्दै मार्गनिर्देशन गरेको पनि पन्तले बताए । संस्थापक अध्यक्ष महतो एनआरएनएको निर्वाचनमा कहिले पनि सहभागी हुने नगरेको बताउँदै विश्व सम्मेलन बहिष्कार नगरेको पनि उनको दाबी छ ।

उनले भने,‘अधिवेशनको बेला उहाँ देश बाहिर हुनुहुन्थ्यो । तर, नेपाल आईसकेपछि राजनीतिक चलखेल भएको देखेर उहाँ महाधिवेशनमा नआउनुभएको यो साँचो हो । त्यसो भएको हुनाले आज विहान पनि उहाँले मलाई संस्थाभित्र राजनीतिक चलखेललाई पूर्ण रुपमा बन्द गराउनुपर्छ भनेर निर्देशनकै भाषामा भन्नुभएको छ । र, मैले पनि उहाँलाई यो राजनीतिक चलखेल बन्द गराउँछु भनेर उहाँसँग प्रतिबद्धता व्यक्त गरेको छु ।’



प्रतिक्रिया दिनुहोस्