Logo

गैँडाको अस्थिपञ्जर भेटियो



चितवन, २ कात्तिक : चितवन राष्ट्रिय निकुञ्जले वर्षातपछि शुरु गरेको खानतलासी अभियानका क्रममा एउटा गैँडा मृत भेटिएको छ । बर्दा सामुदायिक वनअन्तर्गतको नारायणी नदीको भङ्गालोमा गैँडाको अस्थिपञ्जर भेटिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार वर्षात्का कारण निगरानी पु¥याउन कठिन भएका स्थानमा खानतलासी अभियान तीव्र पारिएको छ । सोही क्रममा खानतलासी गर्दा असोज २९ गते गैँडाको अस्थिपञ्जर भेटिएको हो । उनका अनुसार गैँडाका खाग, खुरलगायतका अङ्गहरु सुरक्षित रहेका छन् । खाग ठूलो भएकाले भाले गैँडा भएको अनुमान गरिएको छ ।

नयाँ आर्थिक वर्ष शुरु भएयता कालगतिका कारण मृत गैँडा भेटिएको यो तेस्रो हो । वर्षात्को समयमा बाटो अवरुद्ध हुने भएकाले निकुञ्जको पहुँच सबै ठाउँमा पुग्न कठिन हुन्छ । वर्षात् सकिएसँगै बाटो बनाउँदै निकुञ्जले संवेदनशील क्षेत्रहरुमा गस्ती गर्ने गर्दछ । रुपाखेतीले अहिले निकुञ्जका ठाउँ–ठाउँमा खानतलासी कार्यलाई तीव्रता दिइएको जानकारी दिए ।

पूरै निकुञ्जलाई खानतलासी गर्ने तयारी निकुञ्ज प्रशासनको रहेको छ । निकुञ्जमा नेपाली सेना, निकुञ्जका कर्मचारी र उपभोक्ताका विभिन्न समितिमार्फत सुरक्षा दिने गरिएको छ । यस निकुञ्ज दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघलगायतका लागि प्रख्यात रहेको छ । यसै आर्थिक वर्षको चैतको पहिलो साता गैँडा गणनासमेत गरिँदैछ ।



प्रतिक्रिया दिनुहोस्