Logo

तनहुँ समाज युएईद्वारा अक्षयकोष स्थापना



दमौली, २ कात्तिक : तनहुँ घर भई वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका नेपालीले गठन गरेको ‘तनहुँ समाज युएई’ ले जिल्लाका पाँच विद्यालयमा अक्षयकोष स्थापना गरेको छ ।

गरीब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्याउन छात्रवृत्ति प्रदान गर्ने उद्देश्यसहित समाजले शुक्लागण्डकी नगरपालिका–१२ स्थित शारदा प्राथमिक विद्यालय, भानु नगरपालिका–१३ स्थित नेपाल इस्लामिक हनफिया मदर्शा प्राथमिक विद्यालय, भानु नगरपालिका–९ स्थित पूर्णिमा प्राथमिक विद्यालय, म्याग्दे गाउँपालिका–५ स्थित हिरामणि प्राथमिक विद्यालय र बन्दीपुर गाउँपालिका–१ स्थित भगेरी प्राथमिक विद्यालयमा रु ५०-५० हजारको अक्षयकोष स्थापना गरेको हो ।

समाजले गत वैशाख २० गते युएईमा आयोजना गरेको साङ्गीतिक कार्यक्रमबाट बचेको रकमले जिल्लाका विद्यालयमा अक्षयकोष स्थापना गरिएको समाजका वरिष्ठ उपाध्यक्ष प्रवीण श्रेष्ठले जानकारी दिए । विद्यालयमा स्थापना गरिएको अक्षयकोषको रकम समाजले आज दमौलीमा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको छ । करेन्ट लागेर घाइते भीमाद नगरपालिकाका शिव थापालाई पनि समाजले सोही क्रममा रु एक लाख आठ हजार आर्थिक सहयोग प्रदान गरेको छ ।

भानुका नगर प्रमुख उदयराज गौलीले सम्बन्धित विद्यालयका अध्यक्षलाई अक्षयकोषवापतको रकम हस्तान्तरण गर्दै गरीब बालबालिकाको शिक्षाको लागि चिन्ता व्यक्त गर्दै अक्षयकोष स्थापना गर्नु प्रशंसनीय रहेको बताए । सो नगरपालिकाको वडा नं १३ स्थित नेपाल इस्लामिक हनफिया मदर्शा प्राथमिक विद्यालयका अध्यक्ष जुमादिन मियाँले अक्षयकोषको रकमले विद्यालयमा अध्ययन गर्ने गरीब विद्यार्थीलाई पढ्ने वातावरण सिर्जना हुने भन्दै समाजप्रति हार्दिक आभार व्यक्त गरे ।

शुक्लागण्डकी–१२ स्थित शारदा प्राथमिक विद्यालयका अध्यक्ष हेमबहादुर थापाले रोजगारको क्रममा विदेशमा बसेर पनि जिल्लाको शैक्षिक क्षेत्रमा सहयोग गर्नु उदाहरणीय कार्य रहेको बताए । समाजले स्थापना गरेको अक्षयकोषको व्याजबाट वार्षिकरूपमा ती विद्यालयमा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने समाजका महासचिव कृष सुनारले जानकारी दिए ।

विसं २०७५ मा स्थापना भएको समाजले सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम तथा आर्थिक सहयोग गरेको छ । महासचिव सुनारका अनुसार वैदेशिक रोजगारीका क्रममा निधन भएका बन्दीपुरका गणेश लामिछानेलाई रु एक लाख ५० हजार, मोटरसाइकल दुर्घटनामा घाइते भएका भानु–१३ का धीरेन्द्र अधिकारीलाई रु एक लाख २० हजार, र भरत थापालाई रु एक लाख यसअघि नै प्रदान गरिसकिएको छ ।



प्रतिक्रिया दिनुहोस्