Logo

अविवाहित छिरिङको पुत्रका रुपमा काठमाडौंमा जन्मिएका थिए भुटानका राजा जिग्मे



रिपोर्टर्स नेपाल, २ कात्तिक । २१ फेब्रुअरी सन् १९८० मा भुटानी मूलको बालकको काठमाडौंस्थित अस्पतालमा जन्म भयो । भुटान सरकार देखि नेपाल सरकारले समेत ती बालक भुटानको शाही परिवारका हुन् भन्ने सूचना पाएन । बालककी आमा छिरिङ योङडोन अविवाहित थिइन् । भुटानी सेनाका वरिष्ठ अधिकारी याब युगेन डोर्जीकी छोरी थिइन् छिरिङ ।

छिरिङले जन्म दिएकी बालकको नाम पछिमात्र जिग्मे केशर नामग्याल वाङचुक राखियो । शुरुमा उनको नाम जिग्मे गेसर थियो । बालक नामग्याल आठ वर्षको भएपछि मात्र भुटानी राजा जिग्मे सिङ्गे वाङचुकसँग विवाह भएको थियो । सन् १९८८ मा छिरिङसँगको विवाहलगत्तै राजा वाङचुकले नामग्याललाई भुटानको राजगद्दीको उत्तराधिकारी घोषित गरे ।

आठ वर्षको उमेरमा युवराज घोषित भएका नामग्याल भुटानको भावी राजाका लागि तयार गरिएका थिए । उनलाई विदेशमा विशेष शिक्षादिक्षा दिइएको थियो ।

१४ डिसेम्बर सन् २००६ मा नामग्याल राजा घोषित भए । उनको राज्याभिषेक ६ नोभेम्बर सन् २००८ मा भयो ।

भुटानको राजा भएपछि पनि नामग्याल काठमाडौंमा जन्मिएको रहस्यकै गर्भमा थियो । उनले यसको खुलासा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालसँगको भेटमा गरे । उनी नेपाल भ्रमणमा आउँदा आफू जन्मिएपछि बाल्यकालमा केही समय बिताएको घरमा समेत पुगेका थिए ।

राजा नामग्याल राजा नभएसम्म काठमाडौंमा जन्मिएको खुलासा नगर्नुमा एउटा कारण थियो । भुटानको नागरिक हुन भुटानमै जन्मिएको हुनुपर्ने कानुनी व्यवस्था छ ।

जे होस्, भुटानी राजा जिग्मे केशर नामग्यालको काठमाडौंसँग भावनात्मक सम्बन्ध छ । उनले बेला बेलामा नेपाली अधिकारीहरुसँगको भेटमा यसलाई व्यक्त गर्छन् ।

नेपाली राम्रो बोल्न सक्ने भुटानी राजा नामग्यालले भुटानका लागि नेपालका राजदूत निलाम्बर आचार्यसँग आफू काठमाडौंमा जन्मिएकाले नेपालसँग भावनात्मक साइनो रहेको खुलाए । राजदूतका रुपमा ओहदाको प्रमाणपत्र लिने क्रममा आचार्यलाई भुटानी राजाले यसको जानकारी दिए ।

(इन्द्र अधिकारीले सन् २०१० मा आइपीएमा प्रकाशित गरेको लेखेलाई केही सम्पादन गरी पछिल्लो घटनासँग जोडेर प्रकाशित गरिएको हो)

Photo Sources: Royal Bhutan, Pinterest and Facebook of HE Nilamber Acharya



प्रतिक्रिया दिनुहोस्