Logo

नोबल पुरस्कार विजेता बेनर्जीप्रति भाजपा नेताको आलोचनाप्रति राहुलको कडा प्रतिक्रिया



अर्थशास्त्रका नोबल पुरस्कार विजेता अभिजित बेनर्जीमाथि भारतका उद्दोग तथा वाणिज्यमन्त्री पिउस गोयलले वामपन्थी झुकावको आरोप लगाएपछि कँग्रेस आईका नेता राहुल गान्धीले त्यसको आलोचना गरेका छन् । राहुलले टुवीट गर्दै भाजपा नेताहरुलाई कट्टरपन्थीको आरोप लगाएका छन् ।

राहुलले बेनर्जीलाई सम्बोधन गर्दै कट्टरपन्थीहरु घृणाका कारण आँखा बन्द गरिएकाले व्यवसायिकताबारे केही विचार नभएको लेखेका छन् । दशकौं प्रयास गर्दा पनि कट्टरपन्थीहरु नबुझ्ने प्रकारको भएको राहुलको भनाई छ ।

यसअघि भाजपा नेता समेत रहेका गोयलले बेनर्जीको विचारमा वामपन्थी झुकाव रहेको भन्दै त्यस्तो आर्थिक विचारलाई भारतीय जनताले अस्वीकृत गरिसकेको बताएका थिए ।

भारतीय मूलका अमेरिकी बेनर्जीमाथि भारतीय मन्त्री गोयलले उनको विचार भारत र भारतीय जनताको हितमा नहुने बताउनुलाई अर्थपूर्ण मानिएको छ । उनले अधिकांश अध्ययन अनुसन्धान भारतसम्बन्धि नै गरेका छन् । गुजरातमा नरेन्द्र मोदी मुख्यमन्त्री हुँदा त्यहाँ पनि आफूले काम गरेको बेनर्जीको भनाई थियो ।

बेनर्जी जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययन गरेका थिए । जहाँ उनी वामपन्थीहरुसँग निकट थिए । आफू अन्य मामलामा पक्षपाती हुनसक्ने भएपनि अर्थशास्त्रमा पक्षपाती नभएको जिकिर गरे । आफूलाई अर्थशास्त्रको व्यवसायिकता हेरेरै पुरस्कार दिएको उनको भनाई थियो । अभिजितसँगै इस्थर डुफुलो र माइकल क्रेमरलाई संयुक्त रुपमा यस वर्षको नोबेल पुरस्कार प्रदान गरिएको छ ।

 

-एजेन्सी  Photo Source: ZeeNews



प्रतिक्रिया दिनुहोस्