Logo

नेम्वाङमा सहमति नभए तुम्वाहाम्फेलाई सभामुख बनाउने ओलीको रणनीति



काठमाडौं, ३ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुख पदमा नेपाल कम्युनिष्ट पार्टीभित्र रस्साकस्सी चलेको छ । नयाँ सभामुख चयनका लागि कानुनी अड्चन मात्र नभई सत्तारुढ दलभित्र आकांक्षी धेरै रहेकाले पनि चाँडै चयन हुने सम्भावना देखिएको छैन ।

नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले सभामुख चयनका लािग अझै समय लाग्ने खुलाइसकेका छन् । यसले पनि सभामुख चयन सजिलो नहुने देखिइसकेको छ ।

सभामुखमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली आफू निकटस्थलाई बनाउन चाहिरहेका छन् । प्रधानमन्त्रीका रुपमा आफूले चाहेका कतिपय विधयेक र संसदबाट पारित गर्नुपर्ने विषयमा निवर्तमान सभामुख महराले अड्को थालेको स्वयं ओलीले खुलासा गरिसकेकाछन् । यसकारण पनि उनी आफू अनुकूलको व्यक्तिलाई सभामुख बनाउन चाहिरहेका छन् ।

ओलीको चाहना सुभाष नेम्वाङलाई सभामुख बनाउने रहेको छ । तर, प्रचण्ड उनीप्रति सकारात्मक छैनन् । नेम्वाङ नबने उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई नै बनाउने ओलीको रणनीति रहेको छ । संविधानमा उपसभामुखले सभामुख समक्ष राजीनामा दिने प्रावधान छ । सभामुख र उपसभामुख दुवै नभएको अवस्थामा के हुने स्पष्ट छैन । यसले पनि तुम्वाहाम्फेलाई फाइदा पुगेको छ । उनको पदोन्नती गरी सभामुख बनाउने पक्षमा नेकपाका ओली पक्षधर देखिएका छन् ।

ओलीले तुम्वाहाम्फेलाई बालुवाटारमा बोलाएर भेटिसकेका छन् । भेटपछि उनले उपसभामुख त्यत्तिकै नछाड्ने संकेत गरिसकेकी छिन् । अब उनलाई कि सभामुख कि कुनै महत्वपूर्ण जिम्मेवारी दिनुपर्ने अवस्था बन्न सक्छ ।

नेकपाका अध्यक्ष प्रचण्ड महराको राजीनामा पछि उपयुक्त व्यक्तिको खोजीमा छन् । प्रचण्ड निकटस्थका अनुसार उनी पूर्व सभामुख ओनसरी घर्तीको पक्षमा छन् । घर्ती नभए जर्नादन शर्मालाई सभामुख बनाउनेबारे पनि परामर्श चलेको छ । कानुनी प्रक्रियाका जानकार देव गुरुङलाई सभामुख बनाउनेबारे पनि प्रचण्डले आन्तरिक छलफल चलाएका छन् ।

ओली र प्रचण्डबीच सभामुख आफू अनुकूलको व्यक्तिलाई बनाउनेबारे कुरा मिल्न कठिन हुने देखिदै गएको छ । यसै पनि विदेशीलाई हेर्ने दृष्टिकोण देखि विगतको सहमति पालनालगायतमा प्रचण्डको ओलीप्रति तिव्र असन्तुष्टि बढिरहेको छ । सभामुख चयनका बखत दुवै पक्षबीच अर्को समस्या खडा हुने अवस्था बनेको छ ।
File Photo



प्रतिक्रिया दिनुहोस्