Logo

गायत्री साहलाई मेडिसिटी अस्पतालबाट आफ्नो बच्चा जिम्मा लिन अदालतको आदेश



काठमाडौं, ३ कात्तिक । अन्ततः उच्च अदालत पाटनले पूर्वसांसद गायत्री साहलाई मेडिसिटी अस्पतालबाट आफ्नो बच्चा जिम्मा लिएर उपस्थित हुन आदेश दिएको छ।

७ महिनाअघि जन्मिएको बालकको हालको अवस्था डिस्चार्ज लिएर घर लैजान योग्य रहेकाले पाइएकाले ‘बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६५ ९३० बमोजिम बालबालिकाको हक अधिकारको प्रचलन गराउने प्रयोजनार्थ’ अस्पतालबाट बुझिलिएर अदालत उपस्थित हुन साह र अभिभावकलाई अदालतले आदेश दिएको हो ।

अदालतका रजिष्ट्रार बाबुराम दाहालले असोज ३० गते आदेश दिँदै पत्र बुझेको तीन दिनभित्र बुझेर बालकसहित उपस्थित हुन भनिएको बताए। ‘बालक जिम्मा लगाएर हक प्रचलन गराइपाउँ’ भनी मेडिसिटी अस्पतालले उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको थियो। सो मुद्दामा अदालतले आदेश गर्दै असोज ८ गते बालकको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको थियो।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई तीन हप्ताभित्र निर्देशन दिइएकोमा वीरले असोज २९ गते बालकको स्वास्थ्य परीक्षणको रिपोर्ट अदालतमा बुझाएको थियो। उक्त प्रतिवेदनमा बच्चाको अवस्था सामान्य रहेको प्रतिवेदन दिएपछि अदालतको तर्फबाट बच्चा जिम्मा लिन भनिएको दाहालले बताए।

रिपोर्टमा बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेकोले डिस्चार्ज दिन मिल्ने व्यहोरा उल्लेख गरिएको थियो। काठमाडौं कान्ति बाल अस्पतालका प्रमुख कन्सल्टेन्ट डा पंकज राय र डा रामहरि चापागाईं सहितको टोलीले बालकको स्वास्थ्य परीक्षण गर्दा हालको अवस्था सामान्य रहेकोले घर लैजान सकिने देखिएको प्रतिवेदन दिएको थियो।



प्रतिक्रिया दिनुहोस्