Logo

विकास खर्चमा असफल सरकार, ३ महिनामा ५ प्रतिशत मात्रै



काठमाण्डौ । सरकारले प्रत्येक बर्ष बजेटको आकार बढाउदै लगेको छ । यो आर्थिक बर्षमा साढे १५ खर्ब बजेट छुट्याईएको भएपनि पहिलो तीन महिनामा झण्डै ५ प्रतिशतमात्रै विकास खर्च हुन सकेको छ । विकास खर्चको अवस्था यो बर्ष पनि दयनिय हुने संकेत देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक बर्षको साउनदेखि कात्तिक ३ गतेसम्ममा १८ अर्ब ४६ करोड ७३ लाख पूजीगत बजेट खर्च भएको छ । तीन महिना तीन दिनमा पूजीगततर्फ छुट्याएको बजेटको ४.५२ प्रतिशत खर्च हुदा चालूतर्फ १६. ४५ प्रतिशत खर्च भएको छ । सरकारले पूजीगतर्फ यो बर्ष ४ खर्ब ८ अर्ब बजेट छुट्याएको थियो ।

कुल बजेटको ११.६६ प्रतिशत अर्थात चालू र पूजीगततर्फ गरी कुल १ खर्ब ७५ अर्ब अर्थात खर्च भएको छ । सरकारले यो बर्ष १५ खर्ब ३२ अर्ब ९६ करोड बजेट खर्च हुने अनुमान गरेको छ । चालूतर्फ अर्थात प्रशासनिक खर्च १ खर्ब ५७ अर्ब ४४ करोड हुदा पूजीगत विकास खर्च भने १८ अर्बमात्रै हुनुले विकासखर्चतर्फ छुट्याएको सबै बजेट खर्च हुनेमा शंका गर्ने ठाउँ प्रशस्तै देखिन्छ । असारको अन्त्य बर्खे झरीमा विकास बजेटको रकमजति हिलो सडक र ढलमा खन्याउदा रकमको सदुपयोग हुन नसकेकोभन्दै सरकारको व्यापक आलोचना हुने गरेको छ ।

अर्थ मन्त्रालयले प्रत्येक महिना बजेट खर्च बढाउनेसम्बन्धमा मन्त्रालयका उच्च अधिकारीहरुसँग पटक पटक छलफल गर्दै आएको बताइएको छ । मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले बजेट कार्यान्वयनमा सरकार गम्भिर रहेको दाबी गर्छन् । तर नतिजा भने त्यस्तो छैन ।

मुलुक संघियतामा गईसकेपछिको पाँच बर्षका लागि बनेको दुई तिहाईको बलियो र स्थिर सरकारले बजेट खर्च पनि राम्रैसँग गर्छ भन्नेमा धेरैले विश्वास गरेका थिए । तर, गत बर्षको भन्दा पनि काम खर्च गर्नुले सरकारी कामप्रतिको विश्वास अझैपनि बढेर जान सकेको देखिदैन । पूर्व अर्थमन्त्री डा. रामशरण महत सरकार बढी हल्लाखल्लामै रमाएको तर, प्रशासनिक क्षेत्रलाई चुस्तदुरुस्त बनाउन असफल भएकोले विकास खर्च हुन नसकेको बताउँछन् ।

आर्थिक बर्ष २०७३÷ ७४ देखि हालसम्मको चार बर्षमा बजेट खर्चको रेसियो लगभग उस्तै छ । गत बर्ष २२ अर्ब ५९ करोड विकास खर्च भएपनि यो बर्ष त्यो भन्दा कम १८ अर्बमात्रै खर्च हदा पूजीगत खर्च बढाउने प्रधानमन्त्री र अर्थमन्त्रीको दृढता कागजमा मात्रै सिमित भएको छ । सरकारले लिएको साढे आठ प्रतिशत आर्थिक बृद्धीदरको लक्ष्य पनि भाषणमा मात्रै सिमित हुने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्