Logo

पाकिस्तानी सैनिकसँगको भिडन्तमा दुई गोर्खा सैनिकको मृत्यु



भारत र पाकिस्तानबीच सीमामा गोली हानाहान हुँदा दुई गोर्खा सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गमिल कुमार श्रेष्ठ छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरु काश्मिरको लाइन अफ कन्ट्रोलमा पाकिस्तानी सैनिकबाट भएको फायरिङका क्रममा मारिएका हुन् । गोर्खा सैनिकको निधनबारे भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतीय सेनापति जनरल विपिन रावतसँग कुरा गरी गहिरो दुःख व्यक्त गरेको समाचार संस्था आइएएनएसले जनाएको छ ।

लाइन अफ कन्ट्रोल भनिने काश्मिरमा दुवै देशका सैनिकबीच शनिबार र आइतबार गोली हानाहान भएको हो । पीटीआइका अनुसार पाकिस्तानी सेनाले गोली चलाएपछि जवाफी फायरिङ भएको हो । घुनदिस्तान गाउँमा आइतबार भएको घटनामा दुई भारतीय सैनिक मारिएका थिए । जवाफी फाइरिङमा पाँचजना पाकिस्तानी सैनिक मारिएको पीटीआइले जनाएको हो ।

लाइन अफ कन्ट्रोलमा पाकिस्तानले युद्धविराम उल्लंघन गरेको भारतीय पक्षको दाबी छ । दुवै पक्षले एक अर्काको सीमाभित्र छिरेको आरोप लगाउने गरेका छन् ।

गत हप्ताको मंगलबार पाकिस्तानी मोटार हमलाबाट २७ वर्षीया महिलाको मृत्यु भएको थियो । घटनापछि दुवै पक्षबीच तनाब बढ्ने खतरा बढेको छ ।

काश्मिरको विषयमा भारत र पाकिस्तानबीच तनाव कायमै छ । ३७० धारा खारेज पछि पाकिस्तान भारतीय कदमको विरोधमा उत्रिएको छ ।
-एजेन्सी

 

    Photo: Agency



प्रतिक्रिया दिनुहोस्