Logo

उपनिर्वाचनको तयारीबाट प्रधानमन्त्री सन्तुष्ट, आयोगलाई सहयोग गर्ने विश्वास



काठमाडौं, ३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी सन्तोषजनक रहेको भन्दै सरकारको तर्फबाट निर्वाचन आयोगलाई पूर्ण सहयोग हुने बताएका छन्। आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका सदस्यसँग आइतबार गरेको छलफलमा प्रधानमन्त्रीले उपनिर्वाचनको तयारीप्रति प्रशन्नता व्यक्त गरेका हुन्।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तह उपनिर्वाचनका विविध विषयमा आयोगका तर्फबाट प्रधानमन्त्रीसँग छलफल गरेको हो । छलफलमा आयुक्त नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल सहभागी थिए ।

आयोगले उपनिर्वाचनसम्बन्धी समग्र व्यवस्थापन, मतदाता नामावली, मतदाता परिचयपत्र, सुरक्षा व्यवस्थापन, निर्वाचन चिन्ह, मतदान केन्द्र, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको नियुक्ति, निर्वाचन अधिकृतको कार्यालय स्थापना र सञ्चालनका बारेमा प्रधानमन्त्रीसँग छलफल गरेको थियो ।

यस्तै संविधानको धारा २७१ बमोजिम दल दर्ता, उपनिर्वाचनका लागि आवश्यक ऐन, नियम कार्यविधि, निर्देशिकालगायतका सम्पूर्ण विषयमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएको आयोगले जनाएको छ । प्रधानमन्त्रीले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न गर्न आयोगबाट भइरहेको तयारी सन्तोषजनक रहेको बताएका थिए । file photo/Mukunda Kalikote-RCN



प्रतिक्रिया दिनुहोस्

Screenshot