Logo

महरामाथि अभियोग लगाउने रोशनीले किन बयान फेरिन्



काठमाडौं, ४ कात्तिक । जर्बजस्ती सम्बन्धि मुद्दामा प्रायः पीडितले बयान फेर्ने गरेको तथ्यांक छ । नेपालको हकमा अदालती प्रक्रियामा यस्ता धेरै उदाहरण छन् । तर, पीडतले बयान फेरेपनि पीडकलाई जोगाउन नसकिएको धेरै घटना छन् ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा के हुने हो हेर्न बाँकी छ । उनलाई जसले जर्बजस्तीको अभियोग लगाइन् उनी नै जोगाउन सक्रिय भइन् । अभियोग लागेर सूचना बाहिर ल्याएको भोलिपल्टबाट बदलिएकी रोशनी शाही ३ कात्तिकमा महराकै पक्षमा उभिइन्, त्यो पनि अदालतमा ।

पीडित भनिएकी रोशनी शाही पीडकलाई नै जोगाउन लागिपर्नुको रहस्य के हो ? महराले उनीसँग पारिवारिक सम्बन्ध रहेको सरकारी वकिलको कार्यालयमा बयान दिएको बुझिएको छ । जबकि विगतमा चिन्दिन भन्थे ।

महरा उनको कोठामा पुगेको अस्वीकार गर्दै आएका थिए । बयानका क्रममा कोठाको क्षेत्रसम्म पुगेको स्वीकार गरे । यसले घटनामा महराले कानुनी तरिकाले जोगिने मार्ग अपनाएको देखिन्छ ।

आवेगमा आएर रोशनी शाहीले बाहिर ल्याएको एउटा घटनाले निवर्तमान सभामुख कृष्णबहादुर महराको राजनीतिक जीवनमै ठूलो धक्का पुर्यायो । तर, घटनालगत्तै उल्टै महरालाई निर्दोष भन्दै आएकी रोशनी शाहीले १८ असोजमा प्रहरीमा पुगेर आफूमाथि जर्बजस्तीको प्रयास गरिएको भन्दै किटानी जाहेरी दिइन् ।

१२ असोजको राति आफूमाथि जर्बजस्ती भएको दाबी गरेकी रोशनीको न त स्वास्थ्य जाँच गरिएको थियो न त घटनास्थलको प्रहरी अनुसन्धान गम्भीरताका साथ भएको थियो । रोशनी उल्टै आफूले आवेगमा आएर बोलेको भन्दै सच्याउन थालिन् । उनले सामाजिक सञ्जालमा महराविरुद्ध लेख्ने र बोल्नेविरुद्ध लेखिरहिन् । यसबीच १८ असोजमा एउटा आश्चर्यजनक कदम चालिन् । उनले महराविरुद्ध किटानी जाहेरी दिइन् ।

जाहेरीमा आफूमाथि जर्बजस्ती प्रयासमात्र भएको उल्लेख थियो । यो योजनावद्ध तरिकाले हालिएको किटानी जाहेरी हो भन्ने कतिपय कानुनका जानकारको भनाई छ । किटानी जाहेरी दिनुपर्ने वाध्यकारी अवस्था रोशनीलाई परिसकेको थियो । अन्तर्राष्ट्रिय समुदायले पनि यो घटनातर्फ संकेत गर्दै बोलेपछि रोशनीले जाहेरी नदिए प्रहरी आफै अगाडि बढ्नुपर्ने अवस्था बनेको थियो । यस अवस्थामा रोशनीले मुद्दा कमजोर बनाउने गरी किटानी दिइन् ।

महराले प्रहरीमा बयान दिन मानेनन् । अन्ततः ३ कात्तिकमा रोशनी शाही स्वयं अदालतमा उपस्थित भएर छुटाउनका लागि बयान दिन पुगिन् । काठमाडौं जिल्ला अदालतमा आइतबार घटनाले नाटकीय रुप लियो । यसले किटानी जाहेरी देखि अहिलेसम्मका घटनामा महरालाई सुरक्षित अवतरण गर्ने कानुनी कला देखिन्छ ।

बयानका आधारमा फैसला गर्ने हो भने महरा बलियो भएका छन् । प्रहरीमा किटानी जाहेरी दिने शाहीले प्रहरीको करकापमा उजूरी दिएको बयान दिएर घटनालाई नयाँ मोड दिइसकिन् । यसले महरालाई फाइदा पुगेको छ । अब प्रहरीले दसी प्रमाणमा जान उत्तिकै कठिन छ । यसकारण महराले यो घटनामा सफाई पाउने सम्भावना बलियो बन्न पुग्नसक्छ । तर, कानुन व्यवसायी पीडकले बयान फेर्दैमा नहुने जिकिर गर्छन् । अधिवक्ता स्वागत नेपाल रोशनीले अभियोग लगाएपछि बयान फेर्दैमा जर्बजस्ती नभएको भन्न नसकिने र जर्बजस्ती प्रमाणित भइसकेको जिकिर गर्छन् ।



प्रतिक्रिया दिनुहोस्