Logo

नेपाल कम्युनिष्ट पार्टीको चीनसँग बढ्दो झुकाव (इतिहासका घटनाक्रमसहित)



रिपोर्टर्स नेपाल विशेष । नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको चीन भ्रमणले गति लिएको छ । सरकारको महत्वपूर्ण पदमा रहेका र नरहेका दुवै नेताहरु चीनमा बाक्लो आवत्जावत् गर्न थालेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख आएर नेकपासँग प्रशिक्षण कार्यक्रम नै गरेपछि यसले अझ गति लिएको छ । आखिर भारतमा उत्पत्ति भएका कम्युनष्टिहरु चीनसँग वैचारिक निकटताले मात्र नजिक बन्दै गएका हुन् । यसको आफ्नै इतिहास छ ।

नेपालमा साम्यवादी पुस्तक अध्ययन गर्ने प्रथम नेपाली जयपृथ्वीबहादुर सिंह हुन् । बझाङी राजा सिंहबाट नेपालमा कम्युनिष्ट सिद्धान्तका पुस्तकहरु भित्रिएका थिए ।

सहिद गंगालाल साम्यवादी विचार राख्थे । उनको घरमा खानतलासी गर्दा साम्यवादी रचनाहरु फेला परेको थियो । दाजुको पथमा लागे पुष्पलाल श्रेष्ठ जसले नेपालमा पहिलोपटक कम्युनिष्ट पार्टीको स्थापना गरे । तर, पार्टी नेपालभित्र नभई भारतको बङ्गालमा स्थापना गरिएको थियो ।
कम्युनिष्टहरु राणा शासनकालमा स्थापना भएपनि २००७ सालको क्रान्तिपछिको एक दशकसम्म कमजोर थिए । पञ्चायतकालमा उनीहरुको प्रभाव बढ्दै गयो । बहुदल आउँदा प्रमुख प्रतिपक्षी बन्न सके । त्यसपछि सत्तामा आएका उनीहरु गणतन्त्र स्थापनापछि मजबुत भए । गणतन्त्र स्थापनायता कम्युनिष्टहरुले गैर कम्युनिष्टलाई कमजोर बनाउन सकेका छन् ।

बङ्गालमा स्थापित भएका नेपालका कम्युनिष्टहरुको निकटता कुनैबेला भारतसँग बढी थियो । पछिल्लो समय उनीहरुको निकटता चीनसँग बढेको छ । चिनियाँ कम्युनिष्ट पार्टीसँगको बढ्दो सामिप्यता र समन्वयले यसलाई पुष्टि गर्दै लगेको छ ।

नेपालमा कम्युनिष्टहरुको इतिहास

– साम्यवादी पुस्तक अध्ययन गर्ने प्रथम नेपाली जयपृथ्वीबहादुर सिंह
– १९९७ सालमा गंगालाल श्रेष्ठको घरमा खानतलासी गर्दा साम्यवादी रचनाहरु फेला परेको
– कोइराला परिवारमा कम्युनिज्मबारे चर्चा हुन्थ्यो, बीपी कोइराला माक्र्सवादबाट प्रभावित
– टंकप्रसाद आचार्य कम्युनिस्ट पार्टीसँग निकट भएको र साम्यवादी विचारबाट प्रभावित
– २३ चैत्र २००५ सालमा पुष्पलाल श्रेष्ठद्वारा माक्र्सद्वारा लिखित ‘कम्युनिस्ट घोषणापत्र’ नेपाली भाषामा अनुवाद गरी प्रकाशन
– १० भदौ २००६ मा कलकत्ताको सरकारी टोलालेनस्थित एकजना बंगालीको घरमा पुष्पलाल श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नारायणविलास
जोशी, नरबहादुर कर्माचार्य मिलेर नेपाल कम्युनिस्ट पार्टी स्थापना
– सोही दिन पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डी.पी. अधिकारी र भाकपाका प्रतिनिधि
अयोध्या सिंहसहितको पाँच सदस्यीय केन्द्रीय संगठन समिति गठन
– ३० भदौ २००६ सालमा पुष्पलालद्वारा नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र प्रकाशनसहित नेपाल कम्युनिस्ट पार्टीको विधिवत्
स्थापना घोषणा
– २००७ सालको क्रान्तिमा नेपला कम्युनिस्ट पार्टीको औपचारिक सहभागिता रहेन
– क्रान्तिपछिको राणा—कांग्रेस सरकारमाथि भारत र अमेरिकी सरकारको ‘हतियार’ भएको आरोप
– १० माघ २००८ सालमा तत्कालीन कांग्रेस सरकारद्वारा नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध
– २०१३ सालमा कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा
– २०१५ सालको चुनावमा सहभागी, चुनावमा नराम्रो हार
– २०१७ साल पुस १ गतेको कूपछि बिहारको दरभंगामा नेपाल कम्युनिस्ट पार्टीका विस्तारित बैठक
– चीनपन्थी र सोभियत पन्थी हुन पुग्दा नेपाल कम्युनिस्ट पार्टी विभाजित
– २०२७ सालमा कोअर्डिनेसन कमिटी (माले को गठन
– २ जेठ २०२८ सालमा झापा विद्रोहका रूपमा सशस्त्र कम्युनिस्ट पार्टीबाट हिंसात्मक गतिविधि सुरु
– २५ जेठ २०३२ सालमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी (माले गठन
– २०३६ सालको जनमतसंग्रह नेकपा मालेद्वारा बहिष्कार
नेकपा मालेद्वारा २९ वैशाख २०४३ मा भएको राष्ट्रिय पञ्चायतको दोस्रो महानिर्वाचनको ‘क्रान्तिकारी उपयोग’
– ५ वैशाख २०४७ सालमा नेकपा मालेको भूमिगत राजनीति समाप्त
– २२ पुस २०४७ सालमा नेकपा माक्र्सवादीबीच एकता भई नेकपा एमाले गठन
– २०४८ सालको निर्वाचनमा नेकपा एमाले ६६, संजमो ९, नेककिपा गरी कम्युनिस्टहरुलाई स्थान
– २०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा एमाले कुल २०५ स्थानमध्ये ८८ मा जितसहित संसद्मा पहिलो पार्टी, नेमकिपालाई ४ स्थान
– मनमोहन अधिकारी नेपालको प्रथम कम्युनिस्ट प्रधानमन्त्री
– नेकपा एकता केन्द्रको संस्थापन पक्षद्वारा चितवनको ज्यामिरेमा प्रथम राष्ट्रिय सम्मेलनबाट नेकपा (माओवादी) गठन, महासचिवमा
प्रचण्ड निर्वाचित
– १ फागुन २०५२ सालमा नेकपा माओवादीद्वारा ‘जनयुद्ध’ आरम्भ
– २६ जेठ २०५२ सालमा प्रधानमन्त्री मनमोहन अधिकारीद्वारा संसद् विघटन गरी मध्यावधि निर्वाचनको सिफारिस; सर्वोच्च अदालतमा परेको रिटको १२ भदौ २०५२ को फैसलाअनुसार संसद् पुनस्र्थापना
– २०५५ मा ‘महाकाली सन्धि’को विषयमा विवाद चुलिँदै नेकपा एमाले विभाजित
– २० वैशाख २०५६ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेलाई ७१ स्थान
– ४ फागुन २०५८ सालमा नेकपा एमाले र नेकपा मालेबीच एकता
– १२ मंसिर २०६२ सालमा सात राजनीतिक दल र नेकपा माओवादीबीच दिल्लीमा १२ बुँदे सम्झौता
– २८ चैत्र २०६४ मा भएको संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ कुल ३३२ स्थानमा एमालेलाई ३१ र माओवादीलाई
– ३१ साउन २०६५ सालमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गणतन्त्र नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री
– ११ जेष्ठ २०६६ मा माधवकुमार नेपाल प्रधानमन्त्री
– २३ माघ २०६७ मा झलनाथ खनाल प्रधानमन्त्री
– – १२ भाद्र २०६८ मा डा.बाबुराम भट्टराई प्रधानमन्त्री
– २५ आश्विन २०७२ मा केपी शर्मा ओली प्रधानमन्त्री
– २० श्रावण २०७३ मा प्रचण्ड प्रधानमन्त्री
– १७ आश्विन २०७४ मा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन, एउटै घोषणापत्रमा चुनाव लड्ने निर्णय
– ३ फागुन २०७४ मा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गर्ने निर्णय
– ३ फागुन २०७४ मा केपी शर्मा ओली प्रधानमन्त्री
– ३ जेष्ठ २०७५ नेकपा एमाले र माओवादी केन्द्रबीच एकता
साभारः रिपोर्टर्स क्लब नेपालको स्मारिका २०७४ बाट 

File Photo



प्रतिक्रिया दिनुहोस्