Logo

एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण



काठमाडौँ, ४ कात्तिक । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोगको विशेष आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६÷७७ लागि मेडिकल कलेजहरुका लागि नयाँ सिट निर्धारण गरेको हो ।

काउन्सिलले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिट सङ्ख्या निर्धारण गरेको जनाएको छ । काउन्सिलका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (एमबिबीएस) १०० र बिडीएस ५०० पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (एमबिबीएस) ६५०, काठमाडौँ स्कूल अफ मेडिसीन धुलिखेल एमबिबीएस ८५ र बिडीएस ५००, नोबेल मेडिकल कलेज (एमबिबीएस) १०० र बिडीएस ३५० ले सिट प्राप्त गरेका छन् ।

यसैगरी विराट मेडिकल कलेज (एमबिबीएस) ७५०, काठमाडौँ मेडिकल कलेज एमबिबीएस १०० र बिडीएस ५००, नेपाल मेडिकल कलेज (एमबिबीएस) १०० र बिडीएस ५००, कलेज अफ मेडिकल साइन्सेस (एमबिबीएस) १०० र बिडीएस ५०० र लुम्बिनी मेडिकल कलेज (एमबिबीएस) १०००, नेपालगञ्ज मेडिकल कलेज एमबिबीएस १०००, मनिपाल मेडिकल कलेज (एमबिबीएस) १०००, देवदह मेडिकल कलेज (एमबिबीएस) ५०० र कान्तिपुर डेन्टल कलेज बिडीएस ५०० को सिट सङ्ख्या निर्धारण गरेको काउन्सिलले जनाएको छ ।

नयाँ शुल्क निर्धारण

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शुल्क निर्धारण गरेको थियो । आयोगको असोज १ र ३० गतेको बसेको बैठकले नयाँ शैक्षिकसत्र २०७६/७७ का लागि चिकित्सा शिक्षाको स्नातक तहअन्तर्गत एमबिबीएस र बिडीएस कार्यक्रमका लागि फरक–फरक शुल्क निर्धारण गरेको थियो । उपत्यकाभित्र एमबिबीएस अध्ययन गर्न  ४० लाख २३ हजार २५० र उपत्यका बाहिर र ४४ लाख ३६ हजार २५ शुल्क निर्धारण गरेको थियो । त्यसैगरी, बिडीएसका लागि उपत्यकाभित्र र बाहिर रु २० लाख १९ हजार ५८० तोकिएको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि एमबिबीएस तहका लागि उपत्यकाभित्र  ३८ लाख ५० हजार र उपत्यका बाहिर  ४२ लाख ४५ हजार तथा बिडीएसका लागि उपत्यकाभित्र  १९ लाख ३२ हजार ६१२ शुल्क रहेको थियो ।-रासस



प्रतिक्रिया दिनुहोस्