Logo

प्रचण्डपछि वामदेवपनि ओलीसँग असन्तुष्ट



काठमाडौं, ४ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शक्ति सन्तुलनबारे नयाँ विवाद सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अधिकारविहीन बनाएको भन्दै दाहाल ओलीसँग रुष्ट छन् ।

पार्टी एकता गर्दा ताका नै अध्यक्षद्धय ओली र दाहालबीच आलोपालो सरकारको नेतृत्व गर्नेबारे भद्र सहमति भएको थियो । तर, उक्त सहमतिलाई गोप्य राखिएको थियो । उक्त सहमतिअनुसार ओलीले अढाई वर्ष र प्रचण्डले अर्को अढाई वर्ष सरकारको नेतृत्व गर्ने भनिएको छ । ओलीले सरकारको नेतृत्व गरेको करिब २२ महिना भैसकेको छ । तर, ओलीले सजिलै सरकारको नेतृत्व प्रचण्डलाई सुम्पिने छाँटकाँट देखाएका छैनन् । त्यही भएर प्रचण्डलाई छट्पटी भैरहेको छ । सार्वजनिक कार्यक्रममै प्रचण्डले बेला बेलामा ओलीलाई घुर्काउने गरेका छन् ।

पछिल्लो समय ओलीले प्रचण्डविरुद्ध कडा अभिव्यक्ति दिएका छन् । उनले आफूले त्यति सजिलै सरकारको नेतृत्व प्रचण्डलाई नसुम्पिने आशयको अभिव्यक्ति दिएका छन् । यो सँगै प्रचण्ड झनै ओलीसँग रुष्ट बनेका छन् । हिजोमात्रै पनि ओलीलाई बालुवाटारमै पुगेर प्रचण्डले आफ्नो असन्तुष्टि पोखे । उनीहरुबीच करिब तीन घण्टा छलफल भएको थियो ।

उता, सचिवालय सदस्य वामदेव गौतम पनि अध्यक्ष ओलीसँग रुष्ट छन् । सरकार गठन भएदेखि ओलीसँग रुष्ट रहँदै आएका नेता गौतमलाई पछिल्लो समय ओलीले पार्टीमा विशेष भूमिका दिएर आफ्नो समूहमा ल्याउने कसरत गरेका छन् । गौतमलाई पार्टीको संगठन विभाग प्रमुखको जिम्मेवारीमात्रै दिएका छैनन् उपाध्यक्षमा पनि नाम सिफारिश गरेका छन् ।

ओलीले महत्वपूर्ण जिम्मेवारी दिने निर्णय गरेसँगै हौसिएका वामदेव पनि पछिल्लो समय ओलीसँग रुष्ट छन् । उपाध्यक्षमा नाम सिफारिश गरेर ओलीले आफूलाई अलमल्याउन खोजेको वामदेवको निश्कर्ष छ । उपाध्यक्षमा नाम अनुमोदन गर्नको लागि पहिले पार्टीको स्थायी समितिको बैठक बस्नुपर्छ । स्थायी समितिले नाम अनुमोदन गरेरमात्रै हुँदैन, त्यसपछि केन्द्रिय कार्यसमितिबाट प्रस्तावित नाम अनुमोदन गर्नुपर्नेहुन्छ । तर, ओलीले पार्टीका महत्वपूर्ण बैठकहरु बोलाउनको लागि आनाकानी गरिरहेका छन् । यही विचमा नेता गौतमले पनि प्रधानमन्त्री ओलीलाईभन्दा पनि अर्का अध्यक्ष दाहाल र बरिष्ठ नेता माधव कुमार नेपालसँगको भेटवार्तालाई बढावा दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्