Logo

राजीनामा दिन मदन खरेललाई मन्त्री भट्टराईको दबाब, मन्त्रालय बोलाएर थर्काए



काठमाडौं, ४ कात्तिक । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई तत्काल पदबाट राजीनामा दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले दबाब दिएका छन् । पछिल्लो समय एकपछि अर्को गरेर विवादस्पद काम गरेको र निगमलाई अद्योगतिमा लगेको आरोप लागेपछि खरेललाई तत्काल पदबाट राजीनामा दिन मन्त्री भट्टराईको दबाब छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मन जितेर खरेल निगमको कार्यकारी पदमा पुगेका हुन् । तर, स्वयम प्रधानमन्त्री ओलीपनि खरेलको कामबाट सन्तुष्ट हुन सकेका छैनन् । ओलीले सार्वजनिक कार्यक्रममै अब निगमलाई एक पैसापनि दिन नसकिने भनेर खरेललाई असहयोग गर्ने घोषणा गरेका थिए । निगम अहिले आर्थिक रुपमा चरम संकटमा छ । वाईडबडी जहाजहरु नियमित उडान भर्नुको साटो थन्किएर बसेका छन् ।

खरेलकै अपरिपक्वता र आर्थिक लालसाका कारण वाईडबडीको जापान उडान प्रभावित बन्दै आएको थियो । जापानी सरकारी अधिकारीहरु पनि खरेलको व्यवहार र शैलीबाट सन्तुष्ट छैनन् । ओशाका उडानमा निगमले करोडौं घाटा व्यहोरेको छ । यात्रुविहीन उडान भरेर अध्यक्ष खरेलले लाखौं व्यक्तिगत नाफा कमाएका छन् । तर, यसबाट निगमलाई भने कुनै लाभ पुगेको छैन् ।

निगमलाई कसरी सुधार गर्न सकिन्छ भनेर मन्त्री भट्टराईले सुरुदेखि नै यसबारेमा चासो देखाएका थिए । उनले विशेष कार्यदल बनाएरै प्रतिवेदनसमेत बुझिसकेका छन् । तर, निगमका कार्यकारी अध्यक्ष खरेल भने निगमलाई सुधार गर्नुको साटो दिनप्रतिदिन आफ्नो व्यक्तिगत फाईदा हाँसिल गर्नमै केन्द्रित भएका छन् । निगमकै कर्मचारीबाट उनको राजीनामाको माग भएपछि यो कुरा मन्त्री भट्टराईकहाँ पुगेको थियो । सोही आधारमा मन्त्री भट्टराईले खरेललाई आज मन्त्रालयमा बोलाएर तत्काल राजीनामा दिन दबाब दिएका छन् । तर, उनले यसबारेमा कुनै क्रिया–प्रतिक्रिया दिएनन् । उनी मन्त्रालयबाट मुसो बनेर फर्किएको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्