Logo

धनका लागि श्रीमान छाडी चोर रोज्दा



आलोक गौतम: एक गाउँमा जमिन्दारकी छोरी थिई । ऊ एकजना पूजारीको पुत्रसँग प्रेममा थिई । युवक निकै भलाद्मी थियो । धन नभएपनि मन भएको थियो ।

युवती चतुर थिई । उसले युवकलाई आफू अनुकूल चलाउँथी । युवकसँग भागेर गई । उनीहरु भागेर गाउँको पाटीमा बसिरहेका थिए । दुवैबीच प्रेमालाप हुँदै थियो । एक्कासी चार जना चोर पाटीमा पसे । युवक र युवती त्रसित भए । चोरहरुको हातमा धनको पोको थियो युवतीको आँखा त्यसमा गइसकेको थियो ।

एकैछिनमा गाउँलेको आवाज आयो । उनीहरु चोरलाई पछ्याउँदै आएका रहेछन् । गाउँलेले लखेटेका चारजना चोर थिए । तर, त्यहाँ छ जना देखे ।

गाउँलेले तिनीहरुमध्ये एकजना युवतीको श्रीमान् भन्ठाने ।

उनीहरुले सोधे- तेरो श्रीमान कुन हो ?

युवतीको मनमा पाप पलायो । उसले धनको पोको बोकेको खाइलाग्दो चोरतर्फ देखाई । पूजारीको छोरोले होइन पनि भन्न पाएन । गाउँलेले बेस्सरी कुटे ।

युवती चोरलाई साथमा लिएर बाटो लागी । बीच जंगलमा नदी थियो ।

चोरले भन्यो- यहाँ धेरै धन छ, यसलाई पारी राखेर तिमीलाई लिन आउँछु । युवतीले हवस् भनी ।

चोर नदी तरेर गयो । पारी तरेपछि उ फर्किएन । युवतीले बोलाइरही । पारी पुगेपछि चोरले भन्यो- तिमीले यो धनका लागि श्रीमान त्याग्यौ भने यही धनका लागि मलाई पनि मार्न सक्छ्यौ । यति भन्दै चोर भाग्यो । धनको लोभ गर्दा युवती यता न उताकी भई । उसले सोझो युवकलाई छोडेर धनका लागि चोर रोज्दा धोका पाई ।



प्रतिक्रिया दिनुहोस्