Logo

१३ औँ साग ढोकैमा : दशरथ रंगशाला अझै तयार भएन(भिडियोसहित)



काठमाण्डौ । १३ औँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा हुँदैछ । काठमाण्डौको दशरथ रंगशाला प्रतियोगितामा सबैभन्दा बढि प्रयोग हुने खेल स्थल हो । तर रंगशाला मर्मतको काम अझै सकिएको छैन । जसले गर्दा खेलहरु प्रभावित हुने आशंका गरिएको छ ।

नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको थियो । भुकम्प गएको बर्षौँ भएसँगै पुनर्निर्माणमा भएको ढिलाईका कारण खेलकुद गतिविधि ठप्प हुँदै आएको छ ।

अरु खेलकूद त रोकियो ठिकैछ, तर १३ औँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता नै प्रभावित होला किन भन्ने डर पैदा भएको छ । मंसिर १५ गतेदेखि सुरु हुने प्रतियोगिता आउन अब २५ दिन मात्रै बाँकी छ । तर दशरथ रंगशाला मर्मत कार्य भने अझै जारी छ ।

जब भयो राति तब बुढी ताती भनेझैँ गरी रंगशाला मर्मत कार्यलाई तिब्रता दिइएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले चिनियाँ कम्पनी सीसीआरसीलाई,.नेपाली कम्पनी एचटिसी लगाएतले निर्माण कार्य गरिरहेको छ । तर यतिबेलासम्म रंगशाला निर्माण सकिएर तयार भइसक्नुपर्ने हो । सम्बन्धित निकायको गैर जिम्मेवारी पनि र खेलकूद क्षेत्रलाई गरिएको उपेक्षाका कारण नेपालकै इज्जत र प्रतिष्ठा जोडिएको १३ औँ दक्षिण एसियाली खेलकूद प्रतियोगितासमेत प्रभावित हुने देखिएको छ ।

समयमै काम नहुनुको बहाना अनेक निस्किन्छन् । यस विषयमा राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव रमेश सिलवाललाई प्रश्न गर्दा दशैँ र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका कारण मर्मत प्रभावित भएको जवाफ दिन्छन् ।

राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव रमेश सिलवाल

निर्माणको जिम्मा लिएको चिनियाँ र नेपालि कम्पनिद्वारा अहिले दैनिक ५५–६० जना कामदार रंगशालाको ट्रयाक निर्माण, रंग लगाउने लगायतका काममा जुटेका छन् । यो रंगशाला १३ औं साग खेलकुदकै लागि लक्ष्य बनाएर पुनर्निर्माण थालिएको बर्षौ भइसकेको छ । २०७० सालदेखि नै यो रंगशालाको पुनर्निर्माण थालिएको थियो ।

२०७२ सालमा आएको विनाशकारी भूकम्पले रंगशाला भत्काएपछि सिंगै नयाँ संरचना निर्माण गर्नुपर्ने भयो । अब रंगशाला कात्तिक मसान्तसम्म बनिसक्ने र तोकिएकै मितिमा साग खेलकुद हुने राखेप सदस्यसचिव सिलवालको दाबी छ ।

१६ करोडको लागतका ९० प्रतिशत काम भइसकेको राखेपको दाबि छ । अब चियर बिच्छाउने, रंगरोगन गर्ने काम मात्र बाकी रहेको छ । रंगशालामा फुटबललगायत सम्पुर्ण खेलहरु हुनेछन् । करिब १८ देखि २० हजारको दर्शक क्षमता भएको यो रंगशालाको क्षमता अब पुनर्निर्माणपछि १५ हजार दर्शक क्षमताको हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot