Logo

प्रहरीले छानी छानी फाइल खोल्न थालेपछि काँग्रेस नेताहरुमा त्रास



काठमाडौं, ५ कात्तिक । महरा प्रकरणलगत्तै नेपाली काँग्रेसका नेताहरुमाथि विगतमा लागेको मुद्दाका फाइल धमाधम खुल्न थालेका छन् । मोहम्मद अफताब आलमको १२ वर्ष अघिको ईंट्टाभट्टामा जिउँदै मान्छेलाई हालेको मुद्दाको फाइल खुलेलगत्तै देवेन्द्रराज कँडेलको दोहोरो नागरिकतासम्बन्धि छानविनको फाइल खुलेको हो ।

आलम र कँडेल दुवै काँग्रेसमा आ आफ्नो क्षेत्रमा प्रभावशाली हुन् । पूर्वमन्त्री आलम काँग्रेसले प्रत्यक्षतर्फ निकै कम सिट जित्दा पनि रौतहटबाट चुनाव जित्न सफल भए । उनी त्यस क्षेत्रमा प्रभावशाली छन् । पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल नवलपरासीमा प्रभावशाली छन् । काँग्रेस कठिन समयमा हुँदा पनि उनले नवलपरासीको प्रदेश सांसदको चुनाव जितेका थिए ।

काँग्रेसको तल्लो तहको सांगठनिक प्रभाव राख्ने आलम र कँडेलमाथि कारबाही अगाडि बढाएपछि काँग्रेसवृत्तमा तरंग छाएको छ । आलमको विषयमा सभापति शेरबहादुर देउवाले समेत औंला ठड्याएका थिए । उनले पूर्वाग्रही भएर १२ वर्ष पुरानो मुद्दा उल्टाउन खोजेको आरोप लगाए । यसले विवाद आएपछि विज्ञप्ति नै निकाले ।

कँडेलमाथि भारततर्फ विद्यालय व्यवस्थापन समितिको चुनाव लडेको विषय उठेको छ । यसले उनको दोहोरो नागरिकताको विषय चर्चामा आएको छ । उनीमाथि अनुसन्धान अगाडि बढाएर कारबाहीको तयारी भएको छ ।

आलम र कँडेलपछि काँग्रेसका अन्य नेताहरुमाथि पनि कारबाही अगाडि बढाउने तयारी भएको छ । उनीहरु विवादमा परेको विषय र बन्द भएको मुद्दामामलाको फाइल खोल्न थालिएको छ ।

काँग्रेस उपसभापति विजयकुमार गच्छेदारमाथि ललिता निवासको जग्गा प्रकरणमा छानविन अगाडि बढाइएको छ । अख्तियारले उनीमाथि छानविन अगाडि बढाएको छ ।

यसैगरी आलम प्रकरणमा तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई पनि मुछिएको छ । उनीमाथि पनि चुनौती बढेको छ ।

काँग्रेसका प्रभावशाली नेता देखि क्षेत्रीय र स्थानीय तहमा प्रभाव रहेकाहरुमाथि सरकारले कारबाही अगाडि बढाउन थालेपछि उक्त पार्टीवृत्तमा कतिपय नेताहरु त्रसित भएका छन् । यसप्रति सभापति देउवालगायत प्रभावशाली नेताहरुलाई सतर्क रहन समेत भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्