Logo

अलकायदालाई अमेरिकाले सृजना गरेको खुलासा (भिडियोसहित)



एजेन्सी, ५ कात्तिक । अमेरिकाले आतंकवादी संगठन अल कायदाको सृजना गरेको खुलासा भएको छ । यसको खुलासा हिलारी क्लिन्टनले गरेको एक भिडियो सार्वजनिक भएको छ ।


हिलारीले अमेरिकाले अलकायदाको सृजना गर्न ठूलो लगानी समेत गरेको नौ वर्ष अगाडि बोलेकी थिइन् । त्यतिबेला उनी अमेरिकी विदेशमन्त्री थिइन् । उनले बोलेको भिडियो हालै सार्वजनिक भएको छ ।

सन् २०१० को एक वार्तामा उनले भनेकी छिन्, ‘हामीले अल कायदामा लगानी गरेका हौं ।’ अल कायदा सृजना गर्नुमा सोभियत संघविरुद्ध लक्षित गरेको पनि बताएकी छिन् । सोभियत संघले अफगानिस्तानमा आक्रमण गरेर मध्य एशियामा वर्चश्व कायम गर्न खोजेकाले अलकायदाको सृजना गरिएको उनको खुलासा थियो ।

अमेरिकालाई यस्तो प्रकारको गतिविधि मान्य नभएको कारण अमेरिकाले सोभियत संघ विरुद्ध अल कायदा संगठन सिर्जना गरेको र अनुदान समेत दिएको भिडियोमा भनेकी छिन् । २० वर्ष अगाडी अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको पालमा सरकारले अलकायदाको गठनलाई त्यस बेला राम्रो मानेर अनुदान दिने निर्णय गरेको समेत भनिएको छ ।

त्यो बेला अमेरिकाले पाकिस्तानी गुप्तचर सस्था आइएसआइ र पाकिस्तानी सेनासँग सम्झौता गरेर मुजाहिदिन र अरु विभिन्न देशबाट मानिसहरुलाई संगठनमा सोभियत संघ विरुद्ध भर्ति गरेका थिए । सोभियत संघविरुद्ध अमेरिकी सरकारद्वारा यो संगठनलाई सिर्जना गर्न खर्बौ खर्च गर्नु परेको पनि जनाइएको छ । सोभियत संघ बिघटन भएपछि पाकिस्तानी सेना र आइसआइसँगको सम्झौता तोडे पछि अल कायदा अमेरिकासँग लडिरहेको हिलारीले उक्त भिडियोमा भनिन् ।

वर्तमान अवस्थामा अमेरिका अल कायदा संगठनसँग लडिरहेको छ । यसै संगठनलाई सिर्जना गर्न २० वर्ष अगाडी अमेरिकाले अनुदान समेत दिएको खुलासाले तरंग ल्याएको छ । अमेरिकाले अलकायदा जन्माएको विषय बेला बेलामा आउने गरेपनि कुनैपनि अमेरिकी जिम्मेवार अधिकारीको यसबारेको भनाई पहिलोपटक बाहिरिएको हो ।

अमेरिका भ्रमणका बेलामा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि अमेरिकासँग मिलेर सोभियत संघविरुद्ध मुजाहिद्दीन खडा गरिएको खुलासा गरेका थिए । उनले अमेरिकासँग मिलेर तालिवानविरुद्ध लाग्नुलाई गम्भीर भुल समेत भने ।



प्रतिक्रिया दिनुहोस्