Logo

चुनाव बहिष्कार गर्नेसँग कार्यगत एकता- सीपी गजुरेल, नेता, माओवादी क्रान्तिकारी



काठमाडौं, ५ कात्तिक । माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल विद्रोही स्वभावका छन् । शान्ति प्रक्रियायता कुनैपनि चुनावमा भाग नलिएका उनको दल अहिले पनि चुनाव बहिष्कारको पक्षमा छन् । गजुरेलसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

कुनै पनि निर्वाचनमा भाग लिनुभएन, उपनिर्वाचनमा के गर्नुहुन्छ ?
पहिलो कुरा त यो उपनिर्वाचनले देशको राष्ट्रिय राजनीतिलाई त्यति प्रभाव त पार्दैन । यति हुँदाहुँदै पनि निर्वाचन हुनलागेको छ, त्यसमा भाग लिने कि नलिने भन्ने महत्वपूर्ण विषय हो । यसपहिलाका निर्वाचनमा भाग नलिएकाले नीतिगत रुपमा यसलाई पनि बहिष्कारै गर्छौं ।
निर्वाचनलाई बहिष्कार किन गर्नुहुन्छ ? जनताबीच जानुपर्दै राजनीति पार्टी ?
निर्वाचन बहिष्कार गरेर पनि हामी जनताकै बीचमा जान्छौं । संगठनका काम गर्न जनताकैमा जाने हो ।
चुनावी प्रक्रियामा किन सहभागी हुनुहुन्न ?
चुनावी प्रक्रियामा हामी पहिलो निर्वाचनमा सहभागी पनि भएका हौं । पहिले परिस्थितिमा पनि धेरै हेरफेर भएको छ, त्यसअनुसार हामीले कार्यनीति बनाउनुपर्छ । त्यसकारण अहिले हामी बहिष्कार गर्ने निष्कर्षमा पुगेका छौं ।
देशमा आर्थिक क्रान्तिको लागि बहस सुरु भएको छ नि ?
यो व्यवस्था, संविधान र यसअनुसार बनेको सरकारले कति विकास गर्छ भन्ने कुरा दुईवर्षमा देखिइसकेको छ । यो दुई वर्षमा सरकारमा बसेर बजेट प्रस्तुत गर्दा उहाँहरुलाई कति समस्या भयो । उहाँहरु दुई तिहाई बहुमत छ भनेर दावी गर्नुहुन्छ । त्यो हामीले देखेका छौं, बहस पनि आफ्नो ठाउँमा छ ।
प्रधानमन्त्रीले विकास निर्माणका काम तिब्र गतिमा अगाडि भनिसक्नुभयो नि ?
विकास निर्माणको काम तीब्र रुपमा अगाडि बढ्छ नभन्ने प्रधानमन्त्री त नेपालमा अहिलेसम्म बनेकै छैन । सबैले त्यसै भनेका छन् ।
हाम्रो देशमा धमाधम सुरुङमार्गहरु बन्न थालेका छन् नि ?
सुरुङमार्गको प्रधानमन्त्रीले सिलान्यस गर्नुभयो । यस्ता सिलान्यासहरु यसअघिका प्रधानमन्त्रीहरुले धेरै गरेका थिए । काठमाडौंलाई मेलम्चिको पानीले दिनको एकपटक सफा गर्ने भन्नुहुन्थ्यो कृष्णप्रसाद भट्टराई उहाँ बितेर गइसक्नुभयो । त्यो मेलम्चीको पानी कहिले धाराबाट आउला भनेर जनताहरु अहिलसम्म हेरिरहेका छन् । त्यसैले सुरुङमार्गको सिलान्यास उहाँले गरिहाल्नुभयो अब मुलुकमा विकासैविकास भयो भनेर अहिले नै अर्थ लगाउनुहुँदैन ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सिलान्यसले जनता त खुशी भएका छन् नि ?
यो सुरुङमार्ग बन्यो भने राम्रो कुरा हो । यसलाई खरब भयो भनेर हामी भन्दैनौंं । त्यसमा ६ अर्ब जापानले र ६ अर्ब नेपालले खर्च गर्ने जुन प्रोजेट बनेको छ । यसमा ४ वर्षमा बनाउने भनेर तोकिएको छ । त्यसमा पनि मेलम्चिको पानी जस्तै कति वर्ष र बजेट खप्टिँदै जाने हो त्यो हेर्न बाँकी छ । विगतमा जसरी भ्रष्टाचारका कारणले धेरै राम्रा योजनाहरु असफल भएका छन् । त्यसलाई पनि त्यही नजरबाट हेर्नुपर्ने हुन्छ । ठीकै छ, ४ वर्षमै बन्यो भने त्यो राम्रो कुरा हो । किनभने यो राजधानीलाई जोड्नलाई धेरै घुमाउरो बाटो थियो । त्यस्तो बाटोमा छिटो हुने योजना ल्याउनु राम्रो हो । तर, अब कसरी कार्यान्वयन हुन्छ हेर्न बाही नै छ ।
नेत्रविक्रम चन्दसँग तपाईंहरुको कुरा हुँदैन ?
उहाँका कुराहरु हामीलाई त्यति थाहा भएन । हामीले त बाहिर आएका कुरा बुझ्ने हो । विप्लबजीहरुले यो सरकारसँग वार्ता गर्ने नै होइन हामीले भन्ने हो भने । मैले बिप्लबका अन्तर्वार्ता हेरेको छु । त्यसमा उहाँले ‘यो वार्ताको प्रस्ताव सरकारले ल्याएको हो, हाम्रो त यो सरकारसँग वार्ता हुँदैन’, भन्नुभएको छ । फेरि एकथरी सरकारमा भएका मान्छेहरु वार्ता हुँदैछ भन्छन् । खोइ वार्ताकै ठोस पहल कतैबाट पनि भएजस्तो मलाई लाग्दैन । यो खाली मान्छे अलमल्याउने काम हो जस्तो लाग्छ ।
तपाईंको पार्टीले नेत्रविक्रम चन्दलाई वार्तामा ल्याउनुपर्छ भन्ने पक्षमा किन उभ्याएन ?
वार्ताबाट समस्या समाधान हुन्छ भने वार्ताबाटै गर्नुपर्छ नि । यो त हाम्रो घोषित सिद्धान्त नै हो नि ।
तपाईंको पार्टीको वार्ता घोषित नीति हो ?
वार्तामा जाने भनेको त अन्तिम विकल्प हो । यो समस्या वार्ताबाटै हल हुन्छ भने होस् हामी त्यसको पक्षमा छौं ।
कुन–कुन पार्टीसँग तपाईंहरुको गठबन्धन हुँदैछ ?
गठबन्धन नै भनेर त्यस्तो त केही छैन । तर, अहिले वहिष्कारको कुरा गरिरहँदा निर्वाचन बहिष्कार गर्ने पार्टीहरुसँग कार्यगत एकता हुने छ ।
कार्यगत एकता को–कोसँग हुँदैछ ?
गोपाल किराँतीजीले नेतृत्व गर्नुभएको माओवादी केन्द्रसँग, ऋषि कट्टेलजीको नेकपालगायत यस्तै अन्य संगठनहरुसँग हाम्रो कार्यगत एकता हुने सम्भावना छ ।

File Photo



प्रतिक्रिया दिनुहोस्