Logo

नेपाल न्यायपूर्ण र समतामूलक विश्व व्यवस्थाको पक्षपाती : उपप्रधानमन्त्री पोखरेल



काठमाडौं, ५ कात्तिक । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले विश्व जलवायु परिवर्तनका कारण साना राष्ट्रले चुनौतीको सामना गर्नुपरेकाले पर्यावरण जोगाउन विकसित र औद्योगिक मुलुकले सहयोग उपलब्ध गराउनुपर्ने बताएका छन् ।

चीनको राजधानी बेइजिङमा जारी नवौँ बेइजिङ स्याङ्सन फोरमको साना र मध्यम मुलुकका साझा स्वार्थ र सुरक्षाका विषयको सत्रमा आज सम्बोधन गर्दै आफ्नो तर्फबाट कुनै कमजोरी नहुँदा पनि नेपालले भोग्नुपरिरहेका जलवायु परिवर्तनका समस्याबारे विकसित र औद्योगिक मुलुकको ध्यानाकर्षण गराएका हुन् ।

उनले हिमालय क्षेत्रको संवेदनशील पर्यावरणबारे सबैमा सचेतना बढाउन र जलवायु परिवर्तनलाई नियन्त्रण गर्ने दिशामा पारस्परिक सहयोगलाई अभिवृद्धि गर्न नेपालले सन् २०२० को अप्रिलमा सगरमाथा संवाद आयोजना गर्न लागेकाले त्यसका लागि आमन्त्रण गरे।

“आजको प्रतिस्पर्धात्मक र बदलिँदो विश्व परिवेशमा साना, मध्यम तथा अतिकम विकसित मुलुकका सुरक्षा र विकासका मुद्दाले अन्तर्राष्ट्रियस्तरमा प्राथमिकता पाउनुपर्छ”, उपप्रधानमन्त्री पोखरेलले भने, “नेपालले संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशील र विश्वशान्तिको आधारमा परराष्ट्र नीति सञ्चालन गर्दै आएको छ । नेपाल न्यायपूर्ण र समतामूलक विश्व व्यवस्थाको पक्षपाती रहन्छ ।”

कुनै एक ठाउँको गरीबी सबै ठाउँको सुरक्षा, शान्ति र स्थायित्वका लागि चुनौती भएकाले विकसित मुलुकले आफ्नै सुरक्षाका लागि पनि कम विकसित मुलुकको विकासमा सहयोग गर्न आवश्यक रहेकामा पन उनले जोड दिए।

एक दशक लामो द्वन्द्वलाई आफ्नै मौलिक शान्ति प्रक्रियाबाट हल गरी नेपाल भर्खरै गणतान्त्रिक संघीय संरचनामा प्रवेश गरेको र मुलुकमा राजनीतिक स्थायित्व र शान्ति कायम भएको जनाउँदै उनले वर्तमान सरकारको ध्यान अब आर्थिक समृद्धि र सुशासनलाई प्रवद्र्धधन गर्ने दिशामा केन्द्रित भएको अवगत गराए। रासस



प्रतिक्रिया दिनुहोस्