Logo

विप्लवलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी सक्रिय



काठमाडौं, ५ कात्तिक । वार्ताको पटक पटक प्रयास गर्दा पनि नआएपछि सरकारले विद्रोही नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्दसहितका प्रभावशाली नेताहरुको खोजी तिव्र पारेको छ । विप्लव रहेको सम्भावित जिल्लाका विभिन्न स्थानहरुमा सरकारले प्रहरी परिचालन गरेको छ । सरकारले इन्टेलिजेन्सलाई पनि सक्रिय बनाएको छ ।

भूमिगत अवस्थामा रहेका विप्लवलाई वार्तामा आउन पटक पटकको प्रयास गर्दा पनि नआएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नियन्त्रणमा लिन कडा निर्देशन दिइसकेका छन् । ओलीले पटक पटक वार्ताको प्रयास गर्दा पनि नआएको भन्दै विप्लवप्रति कडा अभिव्यक्ति दिदै आएका छन् ।

विप्लवप्रति कडा बन्दै गएको सरकारले पक्राउ अभियान तिव्र पारेको छ । यसै हप्ता मध्यराति विप्लव समूहको बैठकस्थलमा छापा पारेर २१ कार्यकर्ता पक्राउ परे । चितवनबाट केन्द्रीय सदस्य गुणनिधि लोहनी पक्राउ परे । विप्लवका केन्द्रीय नेताहरु धमाधम पक्राउ परिरहेका छन् ।

विप्लवलाई पक्राउ गर्ने प्रयास भइरहेको सरकारी पक्षको संकेत छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले विप्लवले पटक पटक वार्ताको नाममा झुक्याएको बताए । विप्लवले प्रतिबन्धित कामहरु ऋगाडि बढाइरहने हो भने पक्राउ पर्ने उनको भनाई थियो । अर्यालले भने, ‘व्यवस्था र संविधानविरुद्ध जुन बेलामा गतिविधि हुन्छ त्यही बेलामा पक्राउ पर्दछन् ।’

प्रधानमन्त्री ओलीका परराष्ट्र मामला सल्लाकार डा. राजन भट्टराईले विप्लवलाई पक्राउ गर्न लागिएको सूचनाबारे सोधिएको प्रश्नमा भने, ‘गलत गर्दा सभामुखले त जे मन लाग्यो त्यही गर्न पाउँदैनन् भने नेत्रविक्रम चन्दले कहाँ पाउँछन् ?’ उनले सभामुख र सासदहरुले पनि कानुनी कठघरामा उभिनुपरेको भन्दै विप्लवलाई जे पायो त्यही गर्न छुट नभएको बताए ।

यसैगरी, विप्लव नेतृत्वको नेकपाले सैन्य संरचना बनाउन लागेको सूचना आएपछि सरकार गम्भीर भएको छ । विप्लव समूह सक्रिय रहेको जिल्लाहरुमा सुरक्षा समिति बैठक बसी आवश्यक कदम चाल्ने नीति निर्देशन भइसकेको छ । गृहमन्त्री बादल विप्लव समूहप्रति कडा बन्दै आएका छन् । उनको निर्देशन बमोजिम विप्लवका कार्यकर्ता धमाधम पक्राउ परेका छन् ।

विप्लव समूहका केन्द्रीय नेताहरु धमाधम पक्राउ पर्न थालेपछि सरकारले कडा नीति लिएको संकेत मिलिसकेको छ । विप्लव र प्रकाण्डलाई पक्राउ गर्न सरकार सक्रिय भइसकेको सूचना प्राप्त भएको छ । यता विप्लवले भने सरकारले प्रतिबन्ध फुकुवा गरे वार्ताको सम्भावना रहेको अभिव्यक्ति दिएका छन् ।
File Photo



प्रतिक्रिया दिनुहोस्