Logo

हतियार सहित मदिरा बरामद



राजविराज, ६ कात्तिक । सप्तरीको दक्षिणी भेगमा रहेको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट प्रहरीले लोड गरिएको सिक्सर पेस्तोल मङ्गलबार बरामद गरेको छ । सशस्त्र प्रहरी बल (बिओपी) छिन्नमस्ताबाट खटिएको टोलीले जाँचका क्रममा लोड गरिएको सिक्सर पेस्तोल बरामद गरेको हो ।

प्रहरीका अनुसार बोराभित्र लुकाएर राखेको ‘मेड इन इंग्ल्याण्ड’ लेखिएको दुई राउण्ड गोली र २८ थान कस्तुरी नामक मदिरासमेत बरामद गरिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा आउट पोष्टबाट खटिएको प्रहरीको टोलीले मोहनपुरबाट एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय अनुसार नेपालबाट भारततर्फ मोटरसाइकलमा मदिरा तस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले देखेपछि तस्कर मदिरासमेत छाडेर भागेका थिए । तस्कर मोटरसाइकल छाडेर भागेपछि जाँच गर्ने क्रममा २८ थान कस्तुरी मदिरा तथा कस्तुरी मदिराको बीचमा राखिएको हतियार फेला परेको प्रहरी नायब उपरीक्षक भारतीले बताए । -रासस



प्रतिक्रिया दिनुहोस्