Logo

मोदी दोस्रो कार्यकालमा किन नेपाल आएनन्



रिपोर्टर्स नेपाल, ६ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा प्रधानमन्त्री भएलगत्तै भुटानपछि नेपाल आए । त्यसपछि सार्क शिखर सम्मेलन र बिमस्टेक राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिन आए । चौंथोपटक उनले सांस्कृतिक भ्रमण गरे । जनकपुरमा सिधै उत्रिएका उनले मुक्तिनाथको समेत दर्शन गरेका थिए ।

भारतीय प्रधानमन्त्रीबाट १७ वर्ष हुननसकेको भ्रमण मोदीको कार्यकालमा भयो । त्यो पनि चारपटक । उनी एकै कार्यकालमा चारपटक नेपाल भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री बन्न सके ।

दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका मोदीले नेपाल भ्रमण गर्ने चर्चा चलेको थियो । उनलाई भ्रमण्को निम्तो पनि पठाइयो । तर, त्यसको कुनै संकेत सम्म मिलेको छैन । मोदीले दोस्रो कार्यकालभरी नेपाल भ्रमण गर्ने हुन् होइनन् भन्ने प्रश्न समेत उठेको छ ।

भारतमा भारतीय जनता पार्टी दोस्रो कार्यकालका लागि सत्तामा आएपछि विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आए । काश्मिरलाई विशेष राज्यको स्थान दिने भारतको संविधानको ३७० धारा खारेज गरिएको अवस्थामा जयशंकर नेपाल आए । काश्मिर मामलामा छिमेकी र अन्तर्राष्ट्रिय समुदायको समर्थन लिने सिलसिलामा भ्रमण भएको थियो । तर, सार्कको अध्यक्ष राष्ट्र भएकाले नेपाल काश्मिर मामलामा मौन बस्यो ।

नेपालबाट काश्मिर मामलामा भारतले अपेक्षा गरेको समर्थन नपाएपछि दिल्लीका सामरिक मामलाका जानकारहरुमाझ यसको चर्चा चल्यो । त्यसमाथि चीनको प्रभाव बढेको विषय जोडतोडले उठेको छ । विकसित घटनाक्रमका कारण मोदी गम्भीर बनेका छन् । सबैभन्दा नजिकको छिमेकको समर्थन नपाउनुले मोदी नेपालको वर्तमान सरकारप्रति असन्तुष्ट बनेको विश्लेषण भइरहेको छ ।

नेपालप्रति उनले निकै चासो देखाएका थिए । जुन उनको चार पटकको भ्रमणबाट देखिएको थियो । थाती रहेका कतिपय द्धिपक्षीय विकास निर्माण पनि अगाडि बढेको थियो । यस्तो अवस्था सृजना हुँदा पनि आवश्यक पर्दा साथ नपाएको भन्दै भारतमा वर्तमान सरकारप्रति धारणा नकारात्मक बन्दै गएको छ । यसकारण पनि मोदी नेपाल आउने सम्भावना कम हुँदै गएको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्