Logo

ठेक्कापट्टाको विवादमा घरमा आएका साथीको गोली हानी हत्या



धनुषा, ६ कात्तिक । ठेक्कापट्टामा विवादमा हुँदा एकजनाले घरमा आएका साथीलाई गोली हानी हत्या गरिदिएका छन् । बुधबार विहान प्रगतिनगरस्थित आफ्नै घरमा आएका मनोज शाहलाई पंकज चौधरीले गोली हानी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ठेक्कापट्टाको विषयमा कुरा गर्न भनी चौधरीले शाहलाई घरमा बोलाएका थिए । त्यस क्रममा विवाद भएपछि चौधरीले कटुवा पेस्तोल निकालेर गोली प्रहार गरेका थिए ।

शाहको घटनास्थलमै निधन भएको थियो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले जानकारी दिए । घटनामा संलग्न भनिएका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ठेक्कापट्टा र लेनदेनको विषयमा दुवैबीच विवाद रहेको थियो । दुवै विगतमा नजिकका साथी रहेको बुझिएको छ ।

Photo: Symbolic



प्रतिक्रिया दिनुहोस्