काठमाडौं, ६ कात्तिक । नेपालको प्रतिनिधित्व गर्दै ‘मिष्टर वल्र्ड २०१९’ मा सहभागी अक्षयजंग रायमाझीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले बधाई तथा शुभकामना दिएका छन् । मंगलबार साँझ आफ्नो कार्यकक्षमा भेट गर्दै पुनले सौन्दर्य प्रतियोगितामार्फत विश्वमा नेपाल चिनाएको भन्दै प्रशंसासमेत गरेका थिए । केही समय अगाडि फिलिपिन्सको मनिलामा आयोजना भएको मिष्टर वल्र्डमा अक्षयले आफुलाई प्रतियोगिताको उत्कृष्ट १० भित्र उभ्याउँदै मल्टिमिडिया अवार्ड समेत नेपाल भित्र्याउन सफल भएका थिए ।
उपराष्ट्रपति पुनसँगको भेटमा अक्षयले प्रतियोगिता आफुले नेपालको गौरव सगरमाथा, गौतम बुद्ध, हिमाल, नदी, नालालगायत समेत अन्तराष्ट्रिय समुदायमा राखेको र भिजिट नेपाल–२०२० को निम्तो समेत दिएको जानकारी दिए । कार्यक्रममा नेपाली कलासंस्कृति झल्कने भोषभुषा सहितको काल भैरव नाँच समेत प्रस्तुत गरेको अक्षयले पुनलाई जानकारी गराए । उपराष्ट्रपति पुनसँग भेट्न अक्षयसँग् एक्सपोज नेपालकी सिईओ अर्चना थापा र केही सहयोगी पनि गएका थिए ।
अक्षयलाई मिष्टर वल्र्डमा एक्सपोज नेपालले पठाएको हो । त्यस्तै एक्सपोज नेपालले एक बिज्ञप्ती मार्फतनयाँ मिष्टर नेपाल अर्थात ‘मिष्टर नेपाल २०१९’को लागि आवेदन समेत खुल्ला गरेको छ । १७ बर्षदेखि ३२ बर्ष ननाघेका युवाहरुले सहभागीता जनाउन पाउने प्रतियोगिताको अडिसन कात्र्तिक २५ देखि धनगढीबाट सुरु हुने बिज्ञाप्तीमा उल्लेख छ । धनगढीपछि काठमाडौ, पोखरा, चितवन, बुटवल, इटहरी लगायतको शहरमा समेत पहिलो चरणको अडिसन हुने आयोजकले जनाएको छ ।
देशैभरि छरिएर रहेको प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगीतामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिकस्पिकिङ लगायतका दर्जन बढी बिषयको प्रशिक्षणमा सहभागी गराइने आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापाले जानकारी दिइन् ।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुदै आएको नेपालको प्रतिष्ठित सौदर्य प्रतियोगिता हो । प्रतियोगीतामा सहभागीताको लागि आवेदन फर्म एक्सपोज नेपालको कुपन्डोलस्थित् कार्यालय र वेभसाइटबाट पनि भर्न सकिनेछ ।




प्रतिक्रिया