Logo

ओलीसँग प्रचण्ड सतर्क, ओलोपालो समझदारी कार्यान्वयन नहुने भय



समाचार विश्लेषण । नेपाल कम्युनिष्ट पार्टी बन्नुअघि तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालिन एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डबीच प्याकेजमा सहमति भएको थियो । जसमध्ये सरकार संचालन आधा आधा समयावधि गर्ने समझदारी भएको खुलासा स्वयं प्रचण्डले गरिसकेका छन् ।

प्रचण्डले भनेझै समझदारी पालना भए उनी प्रधानमन्त्री बन्ने समय नजिकिदैछ । तर, प्रचण्डलाई ओलीले समझदारी पालना नगर्ने हुन् कि भन्ने भयले सताइसकेको छ । विगतको गोप्य समझदारी खुलासा गर्नुमा यो भयले पनि भूमिका खेलेको देखिन्छ ।

ओलीले पछिल्लो समय ओलीबाट धोका भएको भन्दै नेकपाका सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलसँग भेटेर यो विषय राखेको खुलेको छ । तर, उनले के विषयमा धोका भएको खुलेको छैन । पछिल्लो समय प्रचण्ड चौतर्फी घेराबन्दीमा परेको अनुभव गर्न थालेका छन् जुन निकटस्थसँग बताएका छन् । विशेषगरी द्धन्द्धकालिन मुद्दाहरु पर्न नदिन विभिन्न आयोगहरुमार्फत् समस्या समाधान गर्नेतर्फ समयमा कम हुन सकेको छैन । प्रचण्डको यही असन्तुष्टिपछि त्यसतर्फ काम थाल्न ओलीले पाइला सारिसके ।

द्धन्द्धकालिन मुद्दा उल्टेर राजनीतिक चुनौती आइपर्नेमा प्रचण्ड सचेत भएका छन् । यही कारण भविष्यमा प्रधानमन्त्री बन्ने बाटोमा अवरोध आउनसक्नेतर्फ चिन्तित पनि छन् । देशमा धमाधम विगतमा गरिएका आपराधिक कामको फाइल खोल्न थालिएको छ । यस अवस्थामा द्धन्द्धकालमा भएका कतिपय गैरन्यायिक हत्याहरुको फाइल खुल्न सक्छ । यसले प्रचण्डलाई पनि पिरोल्न सक्छ ।

प्रचण्डलाई सबैभन्दा सताएको आलोपालो समझदारी कार्यान्वयन नहोला कि भन्ने हो । उनले आफूलाई वेटिङ प्रधानमन्त्रीका रुपमा र्राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रस्तुत गरिरहेका छन् । उनको स्पष्ट सन्देश अब आफू प्रधानमन्त्री हुने भएकाले कुनै महत्वपूर्ण सम्झौता तथा समझदारी आफूसँग नै गर्न भन्ने हो । तर, ओलीले सजिलै सत्ता नसुम्पने हुन् कि भन्ने भय प्रचण्डमा छ । घटनाक्रम त्यसरी नै बढिरहेको छ ।

सत्तारुढ नेकपाभित्र प्रचण्ड कमजोर बनाइएका छन् । सभामुख कृष्णबहादुर महराको राजीनामापछि उनलाई ठूलो धक्का परेको छ । राजनीतिकको चेक एन्ड ब्यालेन्समा यसले प्रचण्डलाई ठूलो असर पारेको छ । सरकारमा रहेका मन्त्रीहरुमध्ये पूर्व माओवादीबाट प्रतिनिधित्व गरेकाहरु पेलाईमा परेका छन् । उनीहरुको कामकारबाही सकारात्मक नभइरहेको विषय उठिरहेको छ । यसले प्रचण्डलाई नोक्शान पुगिरहेको छ ।

नेकपा संसदीय दलमा प्रचण्ड अल्पमतमा छन् । वरिष्ठ नेता झलनाथ खनाल र अर्का नेता वामदेव गौतमसँगको दूरी बढेपछि प्रचण्डको पकड झन् कमजोर भएको छ । यस अवस्थामा भविष्यमा ओलीसँग गरेको समझदारी कार्यान्वयन हुनेमा प्रचण्डलाई शंका उत्पन्न भइसकेको छ । प्रचण्डनिकट नेकपा नेता मणि थापाले आलोपालो समझदारी पालना नभए अस्थिरता आउनसक्ने बताएका छन् । उनले भने, ‘आलोपालो समझदारी पालना हुनुपर्छ, नहुने हो भने अस्थिरता निम्तिन सक्छ ।’ उनको भनाईले प्रचण्ड पक्षधरहरु समझदारी पालना हुनेमा शंका व्यक्त गर्न थालिसकेको देखिन्छ ।

File Photo



प्रतिक्रिया दिनुहोस्