Logo

त्यो सपथमा ‘म भारतीय हुँ भनेको छ ?’-देवेन्द्रराज कँडेल



काठमाडौं, ६ कात्तिक । नेपाली काँग्रेसका नेता तथा सांसद देवेन्द्रराज कँडेल अहिले दोहोरो नागरिकताको आरोप लागेर विवादमा छन् । उनीसँग यही विषयमा नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

तपाईं भारतीय नागरिक, कसरी नेपालमा सांसद बन्नुभयो ?
मलाई पनि आश्चर्य लाग्छ, हाम्रो नेपालको पत्रिकारिता कस्तो भने नयाँ पत्रिकाले मलाई त ठहरै बनायो ।
तपाईं भारतीय नागरिक भनेर धेरै आधार र प्रमाणहरु बाहिर आइसक्यो नि ?
कसैलाई पनि केही आरोप लगान पनि केही आधार र प्रमाणहरु खोज्नुपर्छ नि, वास्तविकता के हो भनेर बिना कुनै आधार जे पायो त्यही लेख्नुहुन्छ ?
तपाईंले पनि म त्यहाँको अस्थायी वासिन्दा हो भन्नुभएको छ नि ?
कोही पनि मानिस कुनै देशमा जान्छ, जहाँ उसका आफ्ना चिनजानका मान्छे हुन्छन् । ऊ त्यहाँ बास बस्छ र ‘म यहाँ बसेको छु है’ भनेर त्यहाँ बस्ने क्रममा पत्राचारको लागि ठेगाना दिँदैमा ऊ त्यही देशको नागरिक हुन्छ ?
भारतीय झन्डा पृष्ठभूमिमा राखेर मुन्नबाबुको शुभकामना दिनुभएको छ नि ?
त्यहाँ मेरो कुनै भ्वाइस छैन । २६ जनवरीमा प्रत्येक बोर्डरमा बस्ने सबै लिडरहरु इण्डियन एम्बेसीमा गएर बधाइ र धन्यवाद दिन्छौं । बोर्डरमा बस्नेले छिमेकी भारतलाई शुभकामना दिने चलन छ । बोर्डरमा बस्ने हामी सबैको यो चलन नै हो । त्यो शुभकामना मैले लेखेर दिएको छु, मैले केही बोलेको छुइन ।
तपाईं नेपालको सांसद भएर उत्तर प्रदेशस्थित महाराजगंजको कलेजसञ्चालक समितिको र आपूm गोरखपुर निवासी भएको भन्नुभयो नि ?
यो कलेज अहिलेको होइन, २००६ सालबाट शुरु भएको थियो । जब राणाहरुले बोर्डरमा हुकुमी शासन चलाएका थिए । उनीहरुले मधेसीहरु शिक्षित हुन नपाउन भनेर तराईमा स्कुल, कलेज खोल्न दिएनन् । अनि हाम्रा अग्रजहरुले पारी गएर कलेज सञ्चालन गरेका हुन् । त्यो नेपालको दुई सय मिटेर भारततिर बोर्डरमा जोडिएको छ । १९५२ मा मेरै हजुर आमा राधादेवी कँडेलको नाममा ‘राधा कुमारी इन्टर कलेज’ भनेर विद्यालयको नाम राखिएको थियो । त्यहीबेलादेखि नै उहाँ त्यो कलेजको आजीवन सदस्य हुनुहुन्थ्यो । नेपालमा राणाको दबदबाबाट पढ्न नपाएका नेपाली मधेसीहरुको पढ्ने थालो नै त्यही विद्यालय थियो । नवलपरासी जिल्लाको यो भेगमा त्यतिबेला कुनै विद्यालय थिएन । त्यो नेपालीको हिम्मत र साहसका साथ भारतको सिमानामा विद्यालय स्थापना गरेर नेपालका राणाहरुलाई चुनौती दिने काम मेरा कँडेल परिवारले गरेका थिए ।
जतिसुकै तर्क गरेपनि तपाईं गोरखपुरवासी भएको प्रमाण त बाहिर आयो नि ?
कुनै देशमा कोही व्यक्ति काम गर्न, पढ्न, व्यापार गर्न, पेशाव्यवसाय गर्न गयो त्यही देशको नागरिक हुन्छ । अर्को देशमा गएर काम, ब्यापार गर्दैमा विदेशी हुन्छ ? कुनै व्यक्तिले विदेशमा गएको बेला मेरो बस्ने ठाउँ फलानो हो भन्दैमा विदेशी भइहाल्छ ? पत्तालगाउनुस् न देवेन्द्रराज कँडेलको घर हो कि आउँदाजाँदा बस्ने बास हो भनेर ।
तपाईं उत्तर प्रदेश महाराजगन्ज कलेजको सञ्चालक समिति अध्यक्ष हो कि होइन ?
म फेरि पनि भन्दैछु । त्यो विद्यालय हाम्रै परिवारका अग्रजहरुले खोलेको हुनाले उहाँहरुले नै सञ्चालक समितिको अध्यक्षता गर्दै आउनुभएको हो । त्यसपछि म अध्यक्ष हुन्छ भन्दा त्यहाँका मान्छेहरुले ‘देवेन्द्रराज कँडेल नेपाली हो’ त्यसैले भारतको विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष हुन सक्दैन भनेर हाइकोर्टमा उजुरी दिएका छन् । त्यो हाइकोर्टका प्रमाणहरु लिएर म आजै काठमाडौं आएको छु । अब म तपाईहरुलाई त्यो हाइकोर्ट चिठी, प्रमाणहरु सबै देखाउँछु ।
तपाईंले त्यहाँ प्रतिस्पर्धीलाई हराएपछि आपूm गोरखपुृर नागरिक भएको प्रमाण जुटाएर सपथ खानुभएको हो कि होइन ?
म भन्दैछु, ‘मैले चुनाव हराएको कुरा’ त्यहाँ चुनाव हुने होइन, १०-१२ जना सञ्चालक समिति सदस्यहरु छन् । त्यहीभित्रबाट एकजनालाई छनोट गर्ने हो । त्यो छटोनको प्रक्रियामा मैले हराएको हुँ । त्यस समितिमा रहेका १०-१२ सदस्यहरुमा मेरो ठेगानामा नेपालको नवलपरासी जिल्ला छ । मेरो ठेगानामा म नेपाली नेपालको नागरिकता प्रमाणपत्र, सांसद छ । त्यसैले उनीहरुले मलाई नेपाली भनेर हाइकोर्टमा मुद्दा हालेका छन् । त्यसमा १९५० देखि मेरो परिवारले चलाएको भनेर मैले दावी गरेको हुँ । त्यतिबेला राणाहरुले आपूm विरोधी गतिविधि गर्नेलाई नेपालमा बस्न नदिएको बेलामा सबै नेपाली त्यही गएर बसोबास गर्ने गर्थे । त्यहींबाट हामी आन्दोलनका तयारी गर्नेगर्दथ्यौं ।
तपाईंले किन हिन्दी भाषामा सपथ खानुभयो त ?
त्यो सपथमा ‘म भारतीय हुँ भनेको छ ?’ त्यहाँ त मैले दिएको सही हो, किन भने ‘म नेपाली हुँ’ दिएको छु । हाम्रो देशमा के केमा सपथ लिन्छन्, त्यहाँ हिन्दीमा छैन ? विभिन्न भाषाभाषिमा छैन ? त्यो सपथ केको लागि हो त्यो पनि पढ्नुस् न । त्यहाँ मैले के भनेको छु, ‘मैले मेरो ठेगाना यो हो न भनेको हो । हाइकार्टमा पनि मैले त्यही भनेको छु ।

तपाईं भारतीय नागरिक हो कि होइन ?
म भारतीय भएको मसँग के आधार छ ? एउटा ड्राइभिङ लाइसिएन्सको आधारमा भारतीय भन्ने ? म त्यहाँ पढ्दैमा, बस्दैमा भारतीय भइहाल्ने ? आज विदेशमा नेपालीहरु गएका छन् के अब उनीहरु विदेशी भए ? विदेशमा जहाँ हाम्रा नेपालीहरु बस्छन्, उनीहरुले म यहाँ बस्छु भनेर ठेगाना दिँदैमा ऊ विदेशी भयो ? अनि जहाँ गएर बसेको छु, जहाँ नेपालीहरु बसेका छन् ती सबै विदेशी भए ? त्यहाँको नेसनल आईडीमा त्यहाँको नागरिक हो भनेर प्रमाणित गर्नुहोस् न । यसको बारेमा छानविन होस् म जतिबेला पनि तयार छु । म कसरी भारतीय नागरिक हो ।
तपाईं राज्यव्यवस्था समितिमा हुँदा छोरीलाई समान हुन सिकाउनुहुँदैन, त्यसो गर्दा समाज भाँडिन्छ भन्नुभएको थियो नि ?
यस्तै कुरालाई अपब्याख्या गरिन्छ । पछि मैले त्यसलाई खण्डन गरेको छु । मैले त्यहाँ ‘कानुन भनेको हरेक परिवारलाई समान हुनुपर्छ, तर कानुनले परिवार चल्दैन, त्यस ठाउँमा हामीले नैतिक संस्कार, संस्कृति दिने गरौं’ छोराछोरीको कह, अधिकार बराबर हो । कुनै घरमा छोरी दिनेबित्तिकै उसलाई कानुन पढाएर नियम कानुनले परिवार चल्दैन, उसले त्यो घर चलाउन त्यहींको मौलिक संस्कार, संस्कृतिअनुसार चल्नुपर्दछ भन्ने भनेर आसय हो । तर, अधिकारका कुरामा लिंग र वर्गको आधारमा विभेद हुनुहुँदैन भन्ने हो । तर, मिडियाले पूर्व भने पश्चिम, पश्चिम भने पूर्व भन्दिने । नयाँ पत्रिकाले मेरो मानहानी गरेको छ । त्यसमा मैले मानहानीको न्याय खोज्नुपर्छ ।
मिडियाले त न्यूज प्रमाणकै आधारमा लेखेको हुन्छ नि ?
मिडिया न्यायलय हो र ? जिल्ला प्रशासन, सिडियो कार्यालय अथवा अदालतबाट ठहर हुने को कि ? मिडियाले ठहर गर्ने ‘यो भारतीय हो कि नेपाली हो भनेर’ ? । आज बोर्डरमा हजारौं नेपालीले भारतीय ड्राभिङ लाइसियन्स लिएर बसेका छन् । विदेशमा गएर त्यहाँको लाइसेन्स लिएर काम गरिराखेका छन् । विदेश गएर काम गरिराखेका छन् । दुबई, कतार, मलेशिया, युरोप, अमेरिकामा त्यहीका ड्राभिङ लाइसियन्स लिएका छन् । त्यसरी लाइसेन्स लिँदैमा त्यो विदेशी भयो ? यति सस्तो छ, विदेशी नागरिक हुन् ?
तपाईंविरुद्ध भारतमा अपहरणको मुद्दा भएको विषयमा उपसभामुखले भन्नुभएको छ, ‘अनुसन्धान प्रक्रिया सकिएपछि हामी पक्राउ गर्दछौं’ भनेर ?
हो, त्यही गिरोह हो, जसले मलाई त्यहाँबाट विस्थापित गरेर कब्जा गर्न खोजेको छ । तपाईंले जुन भन्नुभयो नि, ‘अपहरण भनेर’ त्यही झुठा आरोप लगाएर विस्थापित गर्ने दाउ हो । ‘अपहरण भनेको पनि झुठा आरोप हो, त्यसको पनि मसँग प्रमाण छ ।
कांग्रेसका प्रवक्ताले पनि अनुसन्धानमा हामी सघाउँछौं भन्नुभएको छ नि ?
अनावश्यक आरोप र बिनाकुनै आधारको समाचार सम्प्रेषण गर्ने पितपत्रकारिता गर्न कसैलाई अधिकार छैन । कानुन हातमा लिएर जथाभावी समाचार सम्प्रेषण गर्ने अधिकार कुनै पत्रपत्रिकालाई छैन । यसो गर्नु सरासर हाम्रो मान हानी हो । बोर्डरमा बस्ने लाखौं नेपालीहरुको ड्राभिङ लाइसेन्स छन्, त्यसको आधारमा भारतमा गएर आफ्ना काम, व्यापार, व्यवसाय गर्दछन् ।
अरुसँग तुलना गर्न मिल्दैन तपाईं त यो देशको जनप्रतिनिधि हो नि ?
म पछि पो जनप्रतिनिधि भएँ त, पहिला त म विद्यार्थीमात्र थिएँ नि । विद्यार्थीकालमा व्यापार, व्यवसाय हुँदैन ? काम गर्न पाइँदैन ? ।
नेपाली जनताले तपाईंलाई लगातार जिताइसकेपछि भारतबाट ती सुविधा किन लिइँरहनुभयो त ?
जनप्रतिनिधि हुँदैमा मैले बोर्डरमा भएको मेरो घरै छोडिदिने । नेपालको मधेसभेकमा भएको आफ्नो थातथलो नै छोडिदिनुपर्ने । के म जनप्रतिनिधि भएँ, अब मधेसमा बस्नुहुँदैन भनेर पहाडतिर लाग्नु ?
भारतको लाइसेन्सहरु किन लिइराख्नुभयो त ?
मैले पहिलादेखि लिएको कुरा के भारतले मात्रै लिन पाउँछ ? इण्डियनहरुको नेपालका बैंकमा खाता छैन ? उनीहरुको व्यपारा, व्यवसाय छैन, उद्योगधन्दा छैन ? विभिन्न सामजिक संस्थाहरु भारतलगायत विदेशका ठाउँमा चलाइएको छैन ? भारतीयले नेपालमा आएर उद्योगधन्दा चलाउनु हुने । एउटा नेपालीले भारतको बोडरमा गएर अशिक्षित नेपालीको शिक्षाको हकहितका लागि विद्यालय चलाउन नहुने ? मेरो हजुर आमा जो २०१५ सालको वीपी कोइरालाको संसदीय बोर्डमा एउटा सदस्य ‘राधादेवी कँडेल’ हो । उहाँ २००७ सालदेखि नेपाली कांग्रेसमा लागेर राजनीति गरेको मान्छे हो ।
तपाईं नागरिकता र लाइसियन्स नै भारतबाट लिन अनि कसरी नेपाली जनताले मन पराउँछन् ?
त्यो विद्यालय त्यतिबेला नेता, नेत्री राधादेवी र २०१५ सालमा मेरो बुबा पनि नेपाली कांग्रेसको निर्वाचत सांसद हो । उहाँहरु पनि त्योबेलादेखि त्यो विद्यालयमा जोडिएको हो । हामी भारतीय भएर त्यो विद्यालयमा जोडिएका छैनौं । नेपालको भोटर लिस्टमा मेरो ठेगाना नवलपरासीको महेशपुर भनेर लेखिएको छ । अनि कुरै नबुझी जथाभावी हल्ला गर्ने ? बोर्डरसाइडमा बस्ने सबै नेपालीलाई भारतीय भन्दिने । नेपालमा बसेको म छ पुस्ता, छोरा सात पुस्ता, नाती आठ पुस्ता भइसक्यो अनि हामी विदेशी भयौं ? । जो हिजो आएर गलत तरिकाले नागरिकता लिए, उनीहरु चाहीं क्रान्तिकारी भए ?
अख्तियारको निर्देशनमा सीआइवीको टोली पनि गोरखपुर पुगेको छ नि ?
जहाँ–जहाँ पुगेर छानविन गरे पनि हुन्छ । संसार डुलेर आउन् । देशभित्र यत्रा घोटाला भइराखेका छन्, एनसेलका कुरा उस्तै छन् । बाहिर विदेशमा राखिएका आर्थिक अनियमितताका कुरा धेरै छन् । म त्यतातिर मोड्न चाहन्न, जुन खालको घटना छ, म त्यसमा सहयोग गर्न तयार छु । काही पनि म चुकेको छैन ।
चुकेको प्रमाण प्राप्त भयो भने के गर्नुहुन्छ ?
यदि त्यस्तो भयो भने नैतिक जिम्मेवारी लिन तयार छु । तर, तपाईंले पूर्वाग्रही ढंगले गलत आरोप लगाउन पाउनुहुन्न ।
सांसदबाट राजीमाना दिनुहुन्छ त्यतिबेला ?
सम्मानित अदालतलाई सम्मान नेपालमा पनि गर्ने हो, भारतमा पनि हाइकोर्ट छ, त्यसलाई पनि सम्मन गर्नुपर्छ ।
पत्रपत्रिकामा तपाईंकाविरुद्ध जसरी समाचार आयो, त्यसलाई त जनताले विश्वास गरिसके नि ?
गलत कुराको हल्ला गर्नुस् छिट्टै पैmलिन्छ । राम्रो काम, सोच, विचार गर्नुस् कसैले सुन्दैन । त्यसकारण गलत प्रचारको पछाडि धेरै छन्, मलाई त्यसमा कुनै चिन्ता छैन । मसंग बुझ्न चाहन्छन् भने सबैलाई आफ्नो विचार स्पष्ट दिन्छु ।
तपाई पत्रकार सम्मेलन गर्नुहुन्छ ?
गर्छु मत । तपाईं बोलाउनुस् । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक छ त्यहाँ पनि आफ्नो कुरा राख्छु । मलाई यति सहज ढंगल कुनै पत्रिकाले मानहानी गर्ने अधिकार छ कि छैन ? भन्नुस् त । कुनै पत्रिकालाई गलत हो सही हो भनेर ठहर गर्ने अधिकार छ ।
सूचना त दिनुप¥यो नि ?
सूचना दिनेभन्दामा ठर गर्ने ? संविधानमा त्यस्तो अधिकार छ, कुनै पनि पत्रपत्रिकालाई । ठहर गर्ने अधिकार हुन्छ ? मधेसलाई सधैं दबाएर राख्ने, जो बोर्डरमा बसेका छन् । पत्रकारलाई कमीकजोरी औल्याउने हो, तर तोकेर यो विदेशी हो, यो अपराधी हो, यो भारतीय हो भनेर ठेहर गर्न मिल्छ ? अनुसन्धानपछि मात्र बल्ल गलत हो या सही हो ठहर गर्न मिल्छ ।
अब नयाँ पत्रिकालाई तपाई के गर्नुहुन्छ ?
भित्र के लेखेको छ मलाई थाहा छैन, तर शीर्षकमा जे लेखेर तरंग ल्याएको छ, त्यसको बारेमा मानहानीको न्यायिक छानविन हुनुपर्छ । यो देशमा प्रजातन्त्रको सेनानी भएको नाममा ममाथि गोली प्रहार भएका छन् । आज ती मान्छेहरु कानुन हातमा लिएर हिँडेका छन् । दुईतिहाईको दम्भमा जथाभावी गरिरहेका छन् । निष्पक्ष छानविनबाट यदि म नेपाली होइन भन्ने प्रमाणित भयो भने म अपराधी हो । कारबाही गरे हुन्छ । होइन भने हल्लाको भरमा जथाभावी गर्ने, लेख्ने, मान्छेलाई आतंकित पार्ने काम हुनुहुँदैन । म पनि नेपाली कांग्रेसको सदस्य हुँ, यो देशमा प्रजातन्त्र ल्याउन धेरै गोलीहरु मेरो शरीरमा लागेको छ । अहिले त्यही व्यवस्था मुलुकमा छ । कानुनी राज्य स्थापित भएको छ । त्यसको सम्मान गर्न तयार छु ।

File Photo



प्रतिक्रिया दिनुहोस्