Logo

पेटीठेक्काको रकम विवादमा हात हालाहालपछि पंकजले चलाएका थिए गोली



जनकपुर, ६ कात्तिक । मनोज शाह र पंकज चौधरी दुवै ठेक्कापट्टामा संलग्न थिए । चौधरीको ठेक्का कम्पनिलाई शाहले पेटीठेक्का दिलाएका थिए । त्यसवापत् रकम पाउनुपर्ने उनको दाबी थियो ।

पटक पटक भन्दा पनि पैसाको कुरा नमिलेपछि ६ कात्तिको विहान मनोज पिन्टुको घर गएका थिए । धनुषास्थित उनको घरमा पैसाको विषयमा विवाद चर्कियो । विवाद बढ्दै जाँदा मनोज र पंकजबीच हात हालाहाल भयो । पिटापिट भएपछि आवेगमा आएर पंकजले कोठाभित्र गई कटुवा पेस्तोल निकाले ।
पेस्तोल निकालेर मनोजमाथि तत्काल प्रहार गरे । उनको घटनास्थलमै मृत्यु भयो । त्यसपछि उनी छिमेकीको घरमा लुके ।

गोली चलेको आवाजपछि घटनाबारे प्रहरीलाई जानकारी भयो । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालसहितको टोली पुगेर पंकजको खोजी गर्यो । उनी लुकेको सम्भावित स्थानहरुमा घेरा हालियो । तत्काल आत्मसमर्पण गर्न भनियो । त्यसपछि घरहरु खानतलासी गर्ने क्रममा छिमेकको घरमा लुकेर बसेका पंकज पक्राउ परे ।

धनुषाका एसपी शेखर खनालका अनुसार उनीहरुबीच ठेक्काको विवाद चलेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्