Logo

उम्मेदवार छान्‍न कांग्रेसले संयन्त्र बनाउने



काठमाडौं ७ कार्तिक । १४ मंसिरमा हुने उपनिर्वाचनमा उम्मेदवार छनोटका लागि कांग्रेसले संयन्त्र बनाउने तयारी गरेको छ। बिहीबार बस्ने केन्द्रीय समिति बैठकले अधिकार सम्पन्न संयन्त्र बनाउने तयारी गरेको हो। बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले उपनिर्वाचनमा उम्मेदवार छान्ने अधिकारी निकाय नभएका कारण संयन्त्र बनाउने निर्णय गरेको हो।

यसअघि कांग्रेसको विधानअनुसार संसदीय बोर्डले उम्मेदवार छनोट गर्दै आएको थियो। तर, २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बोर्डले टिकट वितरणमा गल्ती भएका कारण ब्यहोरेको भन्दै अधिकांश केन्द्रीय सदस्यको दबाबका कारण बोर्ड विघटन भइसकेको छ।

बोर्ड विघटनपछि कांग्रेस महासमिति बैठकले नयाँ विधान बनायो। नयाँ विधानअनुसार बोर्ड गठन हुनुपर्ने भए पनि अन्तरिक सहमति जुट्न नसक्दा बोर्डसँगै अधिकांश विभाग खाली छन्।

उपनिर्वाचनको मुखैमा बोर्ड गठनको सहमति जुट्ने सम्भावना कम भएपछि संयन्त्र बनाउने तयारीमा कांग्रेस नेतृत्व जुटेको हो। ‘बिहीबार(आज) बस्ने केन्द्रीय समिति बैठकले नै बोर्ड बनाउन त सम्भव नहोला’, पार्टी सहमहामन्त्री डा.प्रकाशशरण महतले भने, ‘बोर्डजस्तै अधिकार सम्पन्न संयन्त्र बनाउनेप्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय भएको छ।’

पार्टीले स्थानीय तहका लागि जिल्ला पार्टीले नै उम्मेदवार छान्नसक्ने यसअघि नैनिर्णय गरिसकेको छ। यस्तै, प्रतिनिधिसभा र प्रदेशका लागि भने जिल्लाको सिफारिसमा केन्द्रले नै उम्मेदवार छान्ने छ। यसका लागि संसदीय बोर्ड चाहिने भए पनि कांग्रेसमा बोर्ड नै छैन। ‘केन्द्रीय समितिबाट उम्मेदवार छनोटका लागि म्यानडेट लिने निर्णय भयो’, वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘उपनिर्वाचनमा कसरी अघि अघि बढ्ने भन्नेबारे पनि सामान्य छलफल भएको छ।’

पदाधिकारी बैठकमा पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले हालसम्म जिल्लाबाट आएका उम्मेदवारको सिफारिसबारे जानकारी गराएका थिए। ‘एक ठाउँबाट तीनजनाको मात्र सिफारिस गर्नु भनेका थियौँ’, सहमहामन्त्री डा.महतले भने, ‘तर, कसैको पनि मन नदुखोस् भनेर होला आएका सबैको नाम केन्द्रमा सिफारिस गरेका छन्।’ अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्