Logo

ओली विदेश उडे, दाहाल-नेपालबीच गोप्य सहमति



काठमाडौं, ७ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र यतिवेला नयाँ गठबन्धन बन्ने र भत्किने क्रम चलिरहेको छ । केही समय यता नेकपामा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच दुरी बढेको छ । अध्यक्ष दाहालले पार्टी एकताको बेलामा भएको सहमति कार्यान्वयनमा ओलीले उदासिनता देखाएको र आफूलाई पेलेर जान खोजेको भन्दै संघर्ष सुरु गरेका छन् । पार्टीभित्र दाहालले अर्का अध्यक्ष ओलीविरुद्ध भित्री रुपमा संघर्ष छेडेका छन् । सार्वजनिक कार्यक्रममै दुवै अध्यक्षले आफूहरुबीच खासै सुमधुर सम्बन्ध नरहेको संकेत गर्ने खालका अभिव्यक्ति दिँदै आएका छन् ।

पार्टी एकताको बेला सरकारको नेतृत्व ओली र दाहालले आलोपालो गर्ने सहमति भएको कुरा नेकपाकै शीर्ष नेताहरुले बताउँदै आएका छन् । आलोपालोमा सहमति भएको कुरा सचिवालय सदस्य वामदेव गौतमले पनि सार्वजनिक रुपमै घोषणा गरिसकेका छन् । तर, ओली पक्षधर नेताहरु भने यो कुरा मान्न तयार छैनन् । यदि सहमति नै भएको हो भनेपनि समय आएपछि त्यसको कार्यान्वयन हुनेतर्फ ओलीले संकेत गरिसकेका छन् । अध्यक्ष दाहालले केपी शर्मा ओली भारत भ्रमणमा रहेको बेला पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा आफू र ओलीबीच अढाई अढाई वर्ष सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको खुलासा गरिदिएका थिए । त्यसपछि त नेकपामा यो कुरा जोडतोडका साथ उठ्न थालेको छ।

दशैं सकिएलगत्तै अध्यक्ष दाहालले ओलीसँग धेरै चरणमा सहमति कार्यान्वयनलगायतका समसामयिक विषयमा बालुवाटारमा एक्लाएक्लै भेटवार्ता गरेका छन् । तर, बालुवाटारबाट निस्किँदा प्रचण्ड निराश हुँदै फर्किएका छन् । उनीनिकट नेताहरुका अनुसार सहमति कार्यान्वयनमा ओलीले अध्यक्ष दाहाललाई त्यति वास्ता गरेका छैनन् । पेलेरै जाने रणनीति ओलीजीले अख्तियारी गरेकोले प्रचण्डजीले पनि अब वारपारको लडाई लड्ने निश्कर्ष निकाल्नुभएको छ, दाहालनिकट एक नेताले रिपोर्टर्स नेपाल डटकमसँग भने ।

हुन पनि प्रचण्डले पछिल्लो समय ओलीविरुद्ध सशक्त मोर्चा खडा गर्नेगरि गृहकार्य थालेका छन् । प्रधानमन्त्री ओलीसँग रुष्ट बनेका अर्का बरिष्ठ नेता माधव कुमार नेपाल र सचिवालय सदस्य वामदेव गौतमलाई साथमा लिएर अघि बढ्ने र ओलीविरुद्ध संघर्ष गर्ने प्रचण्डको योजना छ । पछिल्लो समय नेता नेपाल र दाहालबीच पटक पटक गरेर आधा दर्जनपटक भेटवार्ता तथा छलफल भएका छन् । ती सबै छलफलमा ओलीविरुद्ध एकताबद्ध भएर प्रतिकारमा उत्रिने र सहमति कार्यान्वयन गराउन दबाब सिर्जना गर्नेबारे कुराकानी भैरहेको पनि दाहालनिकट स्रोतले जनायो ।

प्रधानमन्त्री ओली आज अजरबैजान प्रस्थान गरेका छन् । यता, अध्यक्ष दाहालले भने नेता नेपालसँग गम्भिर छलफल थालेका छन् । छलफलमा नेता गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको पनि साथ रहेको बुझिएको छ । हुन त अध्यक्ष दाहाल र नेता नेपालबीचको छलफलको लागि मध्यस्थता पनि प्रवक्ता श्रेष्ठले गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्