Logo

प्रचण्डलाई ‘आलोपालो सहमति’ पालना हुनेमा शंका



रिपोर्टर्स नेपाल, ९ कात्तिक । राजनीति इमान जवानले मात्र चल्दैन । षड्यन्त्र नै षड्यन्त्रको घटनाले पनि चल्छ । नेपाली राजनीतिक इतिहासको पाना पल्टाउँदा इमान जवानले नभई षड्यन्त्रको चक्रव्युहका फेहरिस्ताहरु छन् ।

संविधान जारी भएपछि तत्कालिन नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले सहज तरिकाले सत्ता नछाडेपछि तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इमान जवानको विषय उठाएका थिए । कोइराला ओलीविरुद्ध संसदमा प्रधानमन्त्रीको चुनाव लडेपछि विगतमा भएको सहमति पालना नगरेको भन्दै प्रश्न उठाएका थिए । ओलीको दाबी अनुसार संविधान जारी गर्दासम्म सुशील कोइराला र जारी भएपछि केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमति थियो । जसको पालना कोइरालाले नगरेको विषय उठाए । त्यतिबेला सुशील कोइराला निकटस्थले आलोपालोको त्यस्तो कुनै सहमति नभएको दाबी गरेका थिए । संविधान जारी गरेलगत्तै उनीहरुले सहमति नभएको दोहोर्याइरहे ।

इतिहास दोहोरिदैछ पात्रहरु मात्र फेरिएका छन् । अहिले ओली र प्रचण्डबीच आलोपालोको सहमतिको विषय आएको छ । प्रचण्डले आलोपालो सहमति भएको खुलासा गर्दै त्यसको पालना नहुने हो कि भन्नेमा शंका व्यक्त गर्न थालेका छन् । तर, ओलीले यसबारे मुख खोलेका छैनन् । उनी निकटस्थले आलोपालो सहमति नभएको दाबी गर्दै आएका छन् ।
उपप्रधानमन्त्री समेत रहेका रक्षामन्त्री इश्वर पोखरेलले ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति नभएको बताए । उनले यसै हप्ता यसो भनेपछि राजनीतिक तरंग आएको छ । प्रचण्डले पोखरेलसँगको भेटमा आफूलाई ओलीले धोका दिएको भनेको विषय बाहिर आउँदा पोखरेलले यसो भने । यसअघि ओली पक्षका अन्य नेताहरुले पनि आलोपालो सहमति नभएको दाबी गर्दै आएका छन् ।

आलोपालोको सहमति पालना हुनुपर्ने प्रचण्ड पक्षको भनाई रहँदै आएको छ । प्रचण्ड निकट नेकपा नेता मणि थापाले सहमति पालना नभए अस्थिरता आउनसक्ने चेतावनी दिइसकेका छन् । उनले भने, सहमति पालना नहुने हो भने अस्थिरता आउँछ । इश्वर पोखरेलले आलोपालो सहमति नभए्को दाबी गर्नुलाई नेकपा नेता देवेन्द्र पौडेलले दुई अध्यक्षबीच भएको गोप्य सहमति पोखरेललाई जानकारी नहुने बताए । उनले व्यङ्ग्य गर्दै भने, ‘इश्वर पोखरेलजीले ठिक भन्नुभयो, दुई अध्यक्षबीचको गोप्य सहमति उहाँलाई कसरी थाहा हुन्छ ?’

ओली सरकार गठन भएको दुई वर्ष पुग्न लाग्दा आलोपालोको सहमति पेचिलोसँग उठ्दैछ । यस क्रममा प्रचण्डको सक्रियता ह्वात्तै बढेको छ । उनले आफूलाई ओरिजिनल माओवादी होइन भन्न थालेका छन् ।
File Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्