Logo

आठ अर्ब राजश्व सङ्कलन



चितवन, ९ कात्तिक : आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको तीन महीनामा रु आठ अर्ब ५८ लाख ६४ हजार राजश्व सङ्कलन गरेको छ । गत वर्षको यसै अवधिमा रु सात अर्ब ४५ करोड ५१ लाख १३ हजार राजश्व सङ्कलन भएको थियो ।

कार्यालयका सूचना अधिकारी धनिश्वर अर्यालका अनुसार चालू आर्थिक वर्षमा राजश्व विभागले तोकेको लक्ष्यभन्दा कम राजश्व सङ्कलन भएको भए पनि गत वर्षको यसै अवधिको तुलनामा बढी राजश्व सङ्कलन भएको छ । विभागले तीन महीनाका लागि रु १० अर्ब ७४ करोड ९५ लाख ६६ हजार राजश्व सङ्कलनको लक्ष्य दिएको थियो ।

चालू आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा रु ५५ करोड सात लाख ५१ हजार बढी राजश्व सङ्कलन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्षमा अन्तःशुल्कमा रु छ अर्ब ८१ करोड ५९ लाख ५० हजार, मूल्य अभिवृद्धिकरमा रु ५९ करोड ४८ लाख ५८ हजार, आयकरमा रु ५२ करोड ६० लाख ३१ हजार राजश्व सङ्कलन भएको छ ।

कार्यालयका अनुसार व्याज करमा रु चार करोड ७१ लाख ६० हजार, बहालकरमा रु एक करोड ७३ लाख १८ हजार, स्वास्थ्य सेवा करमा रु ४४ लाख पाँच हजार र शिक्षा सेवा शुल्कमा रु एक लाख ४२ हजार राजश्व सङ्कलन भएको सूचना अधिकारी अर्यालले जनाकारी दिए ।

कार्यालयले लक्ष्य निर्धारण बढी भएका कारण तोकिएअनुसारको सङ्कलन गर्न कठिन भएको जनाएको छ । बजारमा व्यापार घटेको, केही कम्पनी ठूला करदाताकामा गएको, भिसिटीएसका कारण ढुवानीमा अन्योल रहेको, मदिराजन्य वस्तुहरुको बिक्री वितरणमा कमी आएको, भन्सार विन्दु घटेकाजस्ता कारण लक्ष्यअनुसार राजश्व सङ्कलन हुन नसकेको हो ।



प्रतिक्रिया दिनुहोस्